close

रिसर्च र इनोभेसनमा लाग्नेलाई सरकारले सघाउने, विश्वविद्यालयदेखि गाउँसम्म इनोभेसन ल्याब खोलिने

टेकपाना टेकपाना

असार ९, २०८३ ९:५५

रिसर्च र इनोभेसनमा लाग्नेलाई सरकारले सघाउने, विश्वविद्यालयदेखि गाउँसम्म इनोभेसन ल्याब खोलिने

काठमाडौं । हालै मात्र गठन भएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको पहिलो मन्त्री बनेका महावीर पुनले अनुसन्धान र आविष्कारमा लाग्न चाहनेहरूका लागि महत्त्वपूर्ण घोषणा गरेका छन् । मन्त्री नियुक्त भएको १२ दिनपछि आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत एक भिडिओ सन्देश जारी गर्दै उनले नवप्रवर्तन र अप्लाइड रिसर्च (व्यवहारिक अनुसन्धान) लाई प्रोत्साहन गर्ने मन्त्रालयको भावी योजना सार्वजनिक गरेका हुन् ।

लामो समयदेखि नेपालमा विज्ञान र प्रविधिका लागि छुट्टै मन्त्रालय हुनुपर्ने माग राख्दै आन्दोलन र पैरवी गर्दै आएका पुनकै मागलाई सम्बोधन गर्दै सरकारले गत ३० वैशाखमा यो नयाँ मन्त्रालय स्थापना गरेको थियो । २६ आफ्नै पहलमा स्थापना भएको मन्त्रालयको कार्यभार जेठदेखि सम्हालेका मन्त्री पुनले विज्ञसँग ब्रेन स्टोर्मिङ (घनीभूत छलफल) गरिरहेको बताएका छन् ।

 

भिडिओ सन्देशमा मन्त्री पुनले मुख्यत: तीनवटा स्पष्ट योजनाहरू अघि सारेका छन् । मन्त्री पुनले नेपाल वा विश्वको कुनै पनि कुनामा रहेर प्राज्ञिक अनुसन्धान (Academic Research) गरिरहेका अनुसन्धानकर्ताहरूलाई अप्लाइड रिसर्च तर्फ लाग्न आह्वान गरेका छन् । कुनै नयाँ सेवा वा प्रविधिको विकास गरी उद्यमी बन्न चाहने र त्यसबाट देश तथा समाजलाई फाइदा पुग्ने काम गर्न चाहनेहरूलाई पनि तयार रहन उनले आग्रह गरेका छन् ।

त्यस्तै मन्त्रालयले विश्वविद्यालय र कलेजहरूमा रहेका नियमित प्राक्टिकल ल्याबभन्दा छुट्टै इनोभेसन ल्याब स्थापना गर्ने योजना बनाएको छ । सृजनशील र नव-प्रवर्तनात्मक सोच भएका विद्यार्थीहरूलाई अनुसन्धानमा सहयोग गर्न चाहने शैक्षिक संस्था तथा निजी अनुसन्धान प्रयोगशालाहरूलाई मन्त्रालयले सहयोग गर्ने नीति ल्याउने मन्त्री पुनको भनाई छ । यस्ता इनोभेसन ल्याबहरू स्थापना गर्दै जाने हो भने बिस्तारै नेपालमा विज्ञान र प्रविधिको विकास हुने मन्त्रालयको मान्यता रहेको उनले बताएका छन् ।

यसैगरी विश्वविद्यालयको पहुँचभन्दा बाहिर रहेका तर नवप्रवर्तन गर्न चाहनेहरूका लागि छुट्‍टै इनोभेसन सेन्टर स्थापना गर्ने मन्त्रालयको अर्को महत्त्वपूर्ण योजना छ । विदेशमा बसेर अनुसन्धान गरेका, नेपालमै व्यवसाय गरिरहेका वा गाउँघरमा रहेका नपढेका तर नयाँ कुरा बनाउने आइडिया भएका जो कोहीले पनि अनुसन्धानमा दुःख पाउन नपरोस् भनेर यो छुट्टै सेन्टरको सुरुवात गर्न लागिएको मन्त्री पुनले प्रस्ट पारेका छन् ।

यद्यपि, यी योजनाहरू रातारात भने लागु हुने छैनन् । मन्त्री पुनका अनुसार यी कामहरू गर्नका लागि आवश्यक कानुनहरू निर्माण गर्नुपर्ने भएकाले १ देखि २ वर्षसम्मको समय लाग्नेछ । "एक वर्षमा धेरै कानुन बनाउन सकिँदैन, तर यो वर्ष ३-४ वटा कानुनहरू बनाएर बिस्तारै अघि बढ्नेछौं," उनले भने ।

आफ्नो यो छोटो कार्यकाल र नयाँ मन्त्रालयको मुख्य फोकस नेपालका प्रतिभाशाली र नविन सोच भएका सिर्जनशील युवाहरूलाई स्वदेशमै राख्ने र विदेश गएकाहरूलाई पनि नेपाल फर्किने वातावरण तयार पार्नु रहेको मन्त्री पुनले स्पष्ट पारेका छन् । यसबाट देशमा रोजगारीको सिर्जना हुने र देशको अर्थतन्त्रलाई समेत टेवा पुग्ने उनको विश्वास छ ।

 

पछिल्लो अध्यावधिक: असार ९, २०८३ १०:५