close

कर्पोरेट पे प्रणालीमार्फत ९ महिनामा एक खर्बको भुक्तानी

टेकपाना टेकपाना

बैशाख १०, २०७९ ७:४४

कर्पोरेट पे प्रणालीमार्फत ९ महिनामा एक खर्बको भुक्तानी

काठमाडौँ । कर्पोरेट पे प्रणालीले चालू आर्थिक वर्षमा रु. १०० अर्बभन्दा बढीको कारोबार फर्छ्यौट गरी महत्वपूर्ण कोषेढुङ्गा पार गरेको छ ।

बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुलाई सहज रुपमा डिजिटल भुक्तानी गर्नसक्ने गरी वर्षदिन अघि सुरुवात गरिएको कर्पोरेट प्रणालीको प्रयोग बढेको छ ।

हाल ४८ बैंक वित्तीय संस्थाहरु मार्फत् उक्त प्रणाालीमा बैंक/वित्तीय संस्थाका ३६ सयभन्दा बढी व्यावसायिक ग्राहकहरु आबद्ध भई कारोबार गर्दै आएका छन् ।

यस प्रणालीमार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ ।

पछिल्लो समयमा यस प्रणालीमा युटिलिटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, पटक–पटक गरिने भुक्तानीको लागि ‘क्विक पेमेन्ट’, खाताको स्टेटमेन्ट हेर्ने सुविधा लगायत नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्रको भुक्तानी, बीमा समितिको इजाजत पत्रको नवीकरणको भुक्तानी, कर्माचारी सञ्चय कोष सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानीहरु उपलब्ध रहेका छन् ।

उक्त प्रणालीमा रियल टाइममा प्रति कारोबार रु.२० लाखसम्म र नेपाल सरकारलाई बुझाउने राजस्व सोही बैंकमा भएको अवस्थामा प्रति कारोबार रु. २०० करोड गर्न सकिन्छ ।

त्यस्तै नन–रियल टाइम कारोबारको हकमा रु २० करोडसम्म र नेपाल सरकारको भुक्तानीको लागि रु ३० करोडसम्म गर्न सकिन्छ ।

साथै यस प्रणालीको एउटै प्लेटफर्ममा एकभन्दा बढी बैंक खाताहरु लिंक गरी कारोबारहरु गर्नसक्ने व्यवस्था समेत रहेकोले ग्राहकलाई कारोबार गर्न थप सहज भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२