close

प्राकृतिक वा फ्ल्याश लाइट, पोर्टेट फोटोग्राफीका लागि कुन राम्रो ?

टेकपाना टेकपाना

असार १९, २०७९ १०:४६

प्राकृतिक वा फ्ल्याश लाइट, पोर्टेट फोटोग्राफीका लागि कुन राम्रो ?

काठमाडाैं । फोटोग्राफीमा लाइट सबैभन्दा महत्वपूर्ण हुन्छ । जति क्यामेराको क्वालिटीले फरक पार्छ, त्यति नै लाइटले पनि । सामान्य फोटो खिच्नेहरुलाई त लाइटको त्यति धेरै महत्त्व नहोला । तर प्रोफेसनल फोटोग्राफरहरुलाई लाइटको महत्त्व राम्रोसँग थाहा हुन्छ ।

अब कुरा गरौँ, फोटोग्राफीका लागि कुन लाइट उपयुक्त हुन्छ त, प्राकृतिक वा फ्ल्याश ? यसको उत्तर तपाईंले सोचेजस्तो सहज छैन ।

फोटोग्राफीमा प्राकृतिक लाइटसँगै फ्ल्याश लाइटको महत्त्वपूर्ण भूमिका हुन्छ । तर समय वा लुक्स वा कस्तो खालको फोटो चाहिएको हो,  त्यसअनुसार फरक पर्छ ।

प्राकृतिक लाइटको फाइदा 

प्राकृतिक लाइट प्रयोग गर्नका लागि तपाईंलाई अतिरिक्त सामग्री वा पैसा लाग्दैन । प्राकृतिक लाइटमा फोटो खिच्न तपाईंसँग क्यामेरा भए पुग्छ । यदि तपाईं फोटोग्राफीमा नयाँ हुनुहुन्छ भने सस्तोमा फोटोग्राफ्री गर्ने वा सिक्न प्राकृतिक लाइटले मद्दत गर्छ ।

योसँगै प्राकृतिक लाइटमा तपाईं विहानको समयमा हलुका लाइट, बेलुकाको समयमा सूर्यास्त हुँदाको कलर पाउनुहुन्छ, जसले तपाईंलाई चाहिएको जस्तो फोटो खिच्न मद्दत गर्छ ।

यदि तपाईं प्राकृतिक लाइटमा धेरै भर पर्नुभयो वा फ्ल्याश बिना नै राम्रो फोटो खिच्न सक्ने हुनुभयो भने फ्ल्याशका लागि चाहिने सामान बोकिरहने झन्झट गरिरहनु पर्दैन ।

प्राकृतिक लाइटको बेफाइदा 

प्राकृतिक लाइटमा पोर्टेट फोटोग्राफीको फाइदाको बारेमा त हामीले कुरा गर्‍याैं । अब केही बेफाइदाको बारेमा पनि चर्चा गरौँ । यसको सबैभन्दा बेफाइदा भनेको कलर नै हो ।

प्राकृतिक लाइटमा फोटो खिच्दा हामीले चाहेजस्तो कलर मिलाउन सक्दैनौँ । जस्तो छ त्यस्तैमा खिच्नुपर्ने हुन्छ वा केही समय पर्खेर खिच्नुपर्ने हुन्छ, जसले गर्दा समय खेर जान्छ । साथै प्राकृतिक लाइट र कलरमा भर पर्दा मौसमले पनि धोका दिन सक्छ ।

फ्ल्याश लाइटको फाइदा

फ्ल्याश फोटोग्राफी गर्दाको फाइदा भनेको सबै कुरा कन्ट्रोल गर्न सक्नु हो । यसमा फोटोग्राफरले लाइट मिटरको प्रयोग गरेर आफ्नो अनुसारको फोटो खिच्न सक्छन् ।

यसमा विभिन्न लाइट मोडिफायर (सफ्टबक्स, अम्ब्रेला) को प्रयोग गरेर लाइटलाई चाहिएको जस्तो आकार दिन पनि सकिन्छ । प्राकृतिक लाइटमा फोटो खिच्दै हुनुहुन्छ भने पनि छायालाई सजिलै फ्ल्याश लाइटको प्रयोग गरेर हटाउन सकिन्छ ।

यसका साथै घरभित्रको फोटो शुट होस् या बाहिरको सबैतिर आवश्यकता अनुसार फ्ल्याश लाइटको प्रयोग गर्न सकिन्छ ।

फ्ल्याश लाइटको बेफाइदा

फ्ल्याश फोटोग्राफी सबैको लागि सहज हुँदैन । यदि तपाईं फ्ल्याश लाइटमा फोटो खिच्न चाहनुहुन्छ भने यसका लागि सबैभन्दा पहिले लाइटसँगै अन्य आवश्यक चिजहरु किन्नुपर्ने हुन्छ, जुन सबैको पहुँचमा हुँदैन ।

यसका साथै फ्ल्याश फोटोग्राफी लाइट, लाइट स्ट्यान्ड जस्ता सामानहरु बोकिराख्नु पर्ने हुन्छ, जुन अलि झन्झटिलो हुन्छ । यसका साथै शुटिङ स्थलमा यसलाई मिलाउन पनि समय लाग्छ, जसले शुटिङ समयलाई लामो बनाउँछ ।

 निष्कर्ष

प्राकृतिक लाइट वा फ्ल्याश लाइट के मा फोटोग्राफी गर्ने भन्ने कुरा तपाईंको आवश्यकता, पैसा र चाहनामा निर्भर रहन्छ । तर यदि तपाईं फोटोग्राफीको क्षेत्रमा नयाँ हुनुहुन्छ, सिक्दै हुनुहुन्छ र पैसा कम छ भने तपाईंले प्राकृतिक लाइटमा पनि फोटोग्राफी गर्न सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३