close

राहदानीको म्याद १ वर्षभन्दा बढी बाँकी रहेकाले ई-पासपोर्टका लागि आवेदन दिन नपाउने

टेकपाना टेकपाना

असार २८, २०७९ १७:४६

राहदानीको म्याद १ वर्षभन्दा बढी बाँकी रहेकाले ई-पासपोर्टका लागि आवेदन दिन नपाउने

काठमाडौं । अब राहदानीको म्याद एक वर्षभन्दा बढी बाँकी रहेका व्यक्तिले विद्युतीय राहदानीको लागि आवेदन दिन नपाउने भएका छन् । राहदानी विभागले मङ्गलबार एक सूचना जारी गर्दै राहदानी बाहकको नाममा जारी भएको राहदानीको बहाल अवधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा ई-पासपोर्ट जारी नगर्ने जानकारी गराएको हो । 

एमआरपीको म्याद एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा पनि विभिन्न एजेन्सीले दुई वा तीन वर्ष भन्दा बढी बहाल म्याद भएको राहदानी गराएमा मात्र भिसा सम्बन्धी प्रक्रिया अघि बढाउने भनेपछि सेवाग्राहीहरू नयाँ राहदानी बनाउन आउने गरेको सूचनामा उल्लेख छ । 

तर पुरानै राहदानीले पनि काम चल्ने भएका कारण र नियमले पनि नदिने हुँदा सेवाग्राहीलाई म्याद बाँकी रहेको राहदानी हुँदाहुदै पनि नयाँ राहदानीका लागि आवेदन नदिन विभागले आग्रह गरेको हो । साथै एमआरपीको बहाल अवधि एक वर्षभन्दा कम भएमा मात्र राहदानी नवीकरणका क्रममा विद्युतीय राहदानीका लागि आवेदन दिन सकिने विभागले जनाएको छ । 

त्यस्तै विभागले एमआरपीको बहाल अवधि छ महिनाभन्दा बढी रहेको अवस्थामा अन्तर्राष्ट्रिय यात्रा गर्न सकिने स्पष्ट पारेको छ । “आफूलाई राहदानी आवश्यक नहुँदाको अवस्थामा बहाल अवधि एक वर्ष भन्दा कम वा बहाल म्याद समाप्त भएपनि तुरुन्तै बनाउनु पर्दैन र यसरी नबनाउँदा कुनै अतिरिक्त शुल्क पनि लाग्दैन,” विभागले भनेको छ, “त्यसैले आफूलाई आवश्यक परेको बखतमा मात्र राहदानी बनाउनको लागि आवेदन दिन सकिने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।”

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३