close

वनप्लसको नयाँ स्मार्टफोन टेनटी सार्वजनिक, १९ मिनेटमै फुल चार्ज हुने

टेकपाना टेकपाना

साउन २०, २०७९ १०:४२

वनप्लसको नयाँ स्मार्टफोन टेनटी सार्वजनिक, १९ मिनेटमै फुल चार्ज हुने

काठमाडौं । गत वर्ष वन प्लस नाइनटी सार्वजनिक नगरेको वन प्लसले यो वर्ष भने वन प्लस टेन टीसँगै आफ्नो टी सिरिजलाई पुनः बजारमा फिर्ता ल्याएको छ । मोबाइलका अधिकांश विवरण यस अघि नै सार्वजनिक भइसकेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भएको वनप्लस टेन टीको मूल्य  ६२९ अमेरिकी डलर (करिब ८० हजार रुपैयाँ) राखिएको छ । त्यस्तै १६ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ७२९ अमेरिकी डलर (करिब ९२ हजार रुपैयाँ) रहेको छ ।

यो नयाँ फोनको समग्र डिजाइन वनप्लस टेन प्रो जस्तै रहेको छ । जसको पछाडि भागमा ठूलो आयातकार क्यामेरा बम्प राखिएको छ । तर आन्तरिक रूपमा भने यो नयाँ फोनमा अनेकौँ अपग्रेडहरू पाउन सकिन्छ ।

जसमा सबैभन्दा रोचक विषय यसको चार्जिङ प्रविधि हो । वनप्लस १० प्रो अधिकतम ८० वाट फास्ट चार्जिङमा सीमित रहेकोमा वनप्लस टेनटीमा भने १५० वाटको फास्ट चार्जिङ पाउन सकिन्छ ।

जुन यस अघि वनप्लस टेन आर र बीबीके इलेक्ट्रोनिक्सको रियलमी ब्रान्डको फोन जीटी नियो थ्रीमा देखिएको थियो । यो फोन १५० वाटको फास्ट चार्जिङबाट १९ मिनेटमै फुल चार्ज हुने कम्पनीको दाबी छ ।

वनप्लस टेन टीमा क्वालकमको स्न्यापड्रागन ८ प्लस जेन वान चिपसेट राखिएको छ । जुन ब्याकग्राउन्डमा ३५ ओटा एप्लिकेसन सञ्चालनका लागि पर्याप्त हुने कम्पनीले जनाएको छ ।

वनप्लसका अनुसार यसमा स्मार्टफोन बजारमै सबैभन्दा ठूलो र आधुनिक कुलिङ प्रविधि राखिएको छ । जसले गर्दा फोनमा हरेक चिज सहज तरिकाले चलाउन सकिनेछ । फोनको अगाडि भागमा ६.७ इञ्चको ओलेड डिस्प्ले राखिएको छ ।

जसले ९० हर्ज देखि १२० हर्जसम्मको रिफ्रेश रेटमा डाइनामिक किसिमले व्यवस्थापन गर्दछ । फोनको पछाडि भागमा ५० मेगापिक्सेलको मेन क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा दिइएको छ ।

त्यसैगरी फोनको अगाडितर्फ डिस्प्लेको माथि बीच तिर १६ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ । फोन अक्सिजन ओएस १२.१ सहित बजारमा आउनेछ । जुन गत वर्ष आएको एन्ड्रोइड १२ मा आधारित रहेको छ ।

जसले तीन ओटा मुख्य एन्ड्रोइड अपडेट र चार वर्षको सेक्युरिटी अपडेट प्राप्त गर्नेछ । एन्ड्रोइड १३ मा आधारित अक्सिजन ओएस १३ यो वर्षको अन्त्यतिर आउने अपेक्षा गरिएको छ । जुन वनप्लसका फ्ल्यागशिप मोडेल वनप्लस एट र नोर्ड तर्फ नोर्ड सीई पछिका डिभाइसले पाउनेछन् ।

फोनसँगै वनप्लसले ८० वाटको कार चार्जर समेत सार्वजनिक गरेको छ । जसबाट वन प्लस टेन टी २९ मिनेटमै फुल चार्ज हुने बताइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३