close

मास्क लगाउँदा समेत सजिलै अनुहार चिन्ने प्रविधिको विकास

टेकपाना टेकपाना

पुस २५, २०७७ १३:४४

मास्क लगाउँदा समेत सजिलै अनुहार चिन्ने प्रविधिको विकास

काठमाडौं । फेसियल रिकग्निसन (मानिसहरूको अनुहार चिन्ने प्रविधि) विकास गर्ने जापानी कम्पनी एनईसीले मास्क लगाएको अवस्थामा समेत अनुहार चिन्नसक्ने नयाँ प्रविधि विकास गरेको छ । यो प्राविधिक उपकरणले मानिसहरूको अनुहारको आँखाजस्ता मास्कले नछेकिएका भागलाई केन्द्रित गरेर हेर्छ ।

एक सेकेन्डभन्दा पनि कम समयमा यो प्रविधिले मानिसको पहिचान गर्नसक्ने र यसले ९९.९ प्रतिशतसम्म सही पहिचान गर्न सक्ने कम्पनीको दाबी छ । लन्डनको प्रहरीले भिडमा निगरानीका लागि एनईसीको नियोफेस लाइभ फेसियल रिकग्निसन प्रयोग गरिरहेको छ ।

यसका अन्य ग्राहकहरूमा लुफ्थान्सा र स्वीस इन्टनेसनल एयरलाइन्स रहेका छन् । एनईसीले उक्त प्रणाली टोकियो मुख्यालयमा एउटा स्वचालित भुक्तानी पसलमा परीक्षण गरिरहेको छ ।

एनईसीको डिजिटल प्लेटफर्म शाखाका सहायक प्रबन्धक शिनिया ताकाशिमाले रोयटर्ससँगको कुराकानीमा उक्त प्रविधीले मानिसहरूलाई कैयौँ अवस्थामा अनुहार देखाउनुपर्ने अवस्थाबाट मुक्ति दिने बताएका छन् । कोरोनाभाइरस महामारीका कारण यस्तो प्रविधिको आवश्यकता बढेको उनको भनाई छ ।

नेसनल इन्स्टिच्युट अफ स्ट्यान्डर्ड्स एन्ड टेक्नोलोजीको एउटा प्रतिवेदन अनुसार कोरोनाभाइरस महामारीअघि यस्ता फेसियल रिकग्निसन प्रविधिले २० देखि ५० प्रतिशतसम्म मास्क लगाएका मानिसहरूको अनुहार चिन्न सकेका थिएनन् । तर सन् २०२० को अन्त्यसम्ममा त्यसमा धेरै सुधार आएको छ ।

गोपनीयता हनन्‌को नैतिक प्रश्नका साथसाथै यस्ता प्रविधिले कसरी छालाको गहिरो रङ्गलाई पहिचान गर्छ भन्ने प्रश्न समेत उठ्न थालेका छन् । गत अगस्टमा वेल्स प्रहरीले प्रयोग गरिरहेको स्वचालित प्रविधि गैरकानुनी भएको भन्दै एउटा अदालतले आदेश दिएको थियो ।

उक्त मुद्दालाई नागरिक अधिकार समूहहरूले अदालत पुर्‍याएका थिए । अमेरिकामा पनि ठूला प्रविधि कम्पनीहरूले प्रहरी अधिकारीहरूले प्रयोग गर्ने यस्ता प्रविधि बन्द गरिदिएका थिए ।उनीहरूले यसलाई कसरी प्रयोग गर्ने भन्ने निर्णय गर्न कानुन निर्मातालाई समय दिन त्यस्तो गरिएको बताएका थिए ।

एजेन्सी ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१