close

चिप अभावका कारण ग्राफिक्स कार्डको मूल्य तीन गुणाले बढ्यो, आपूर्तिमा चरम समस्या

टेकपाना टेकपाना

भदौ ६, २०७८ २१:४६

चिप अभावका कारण ग्राफिक्स कार्डको मूल्य तीन गुणाले बढ्यो, आपूर्तिमा चरम समस्या

काठमाडौं । विगत डेढ वर्षदेखि बजारमा विद्यमान चिप अभावको कारण ग्राफिक्स कार्डको मूल्य अत्यधिक मात्रामा बढेको छ । केही सरोकारवालाहरूले चिप अभावको समस्या केही हदसम्म कम हुँदै जाने अनुमान गरे पनि एनभिदियाका सीईओ जेनसेन हुवाङले भने यो समस्या २०२२ सम्म यथावत् नै रहने बताएका छन् ।

एनभिदिया र एएमडी दुवैले यो समस्यालाई सम्बोधन गर्दै आफ्नो आपूर्ति सुधार गर्न विभिन्न प्रयास गरिरहेका छन् । एनभिदियाले अहिले जीपीयूको अभावलाई सम्बोधन गर्न प्रयास गरिरहेको छ र अर्को वर्षसम्ममा ग्राफिक्स कार्ड आपूर्ति पनि लयमा फर्कने आशा गरेको हुआङले बताएका छन् ।

‘हामीले आजसम्म हाम्रो दीर्घकालीन आपूर्तिको प्रतिबद्धतालाई सुरक्षित गर्दै आएका छौं । यसैले अर्को वर्षसम्ममा आपूर्ति सहज हुने मेरो अनुमान छ,’ हुआङले बताए ।

यो प्रक्षेपण हुआङले सन् २०२१ मा पनि गरेका थिए । यो वर्षको आठौं महिनाको अन्त्यतिर आइसक्दा पनि यो समस्या यथावत नै छ । यसले गर्दा पनि हुवाङको प्रक्षेपण पुरा हुने अनुमान लगाउन सकिन्छ ।

पछिल्ला केही महिनाहरूमा उत्कृष्ट ग्राफिक कार्ड पाउन मुस्किल भइरहेको छ । चिप अभावका कारण हार्डवेयरहरूको मूल्य विगतको तुलनामा अत्याधिक मात्रामा बढेको छ ।

केही कार्डहरू आफ्नो वास्तविक मूल्यभन्दा ३०० प्रतिशत भन्दा बढि मूल्यमा बिक्री भइरहेका छन् । यद्यपि जर्मनी लगायत केही देशहरूमा भने हाल ग्राफिक्स कार्डको उपलब्धता सहज भए सँगै मूल्यमा पनि केही गिरावट आएको छ ।

यो अभावको समयमा एनभिदियाले लिएको सावधानीका कारण आउने दिनमा बजारमा राम्रो प्रभाव पर्ने धेरै कम्प्युटर उत्पादकहरूले आशा गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१