काठमाडौं । यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा प्रभावित भएको छ । विभागले सञ्चालन गरिरहेको सवारी चालक अनुमतिपत्र सम्बन्धी ईडीएलभीआरएस प्रणालीको डेटाबेस सर्भरमा समस्या आउँदा सेवा अवरुद्ध भएको हो ।
सिंहदरबार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्र अन्तर्गत रहेको सरकारी डेटा सेन्टरमा उक्त सर्भर राखिएको छ । डेटाबेस सर्भरमा देखिएको समस्या समाधानको कार्य भइरहेको भन्दै विभागले एक सूचना प्रकाशित गर्दै उक्त कार्य सम्पन्न नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा प्रभावित रहने जानकारी गराएको हो ।
"यसबाट सेवाग्राहीहरूमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं," विभागले जारी गरेको सूचनामा भनिएको छ । सोमबार बेलुका देखि सर्भरमा समस्या आएको बताइएको छ । सवारी चालक अनुमतिपत्र सम्बन्धी एप्लिकेसन तथा सर्भर यातायात व्यवस्था विभागमै रहेको छ ।
तर डेटा बेस भने सिंहदरबार भित्रको सरकारी एकीकृत डेटा सेन्टरमा रहेको थियो । उक्त डेटा अब विभागमै रहेको डेटा सेन्टरमा सार्न (माइग्रेट) गर्न लागिएको छ । सोही डेटा माइग्रेसनका कारण सर्भरमा समस्या आएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले बताए ।
"भोलि (बुधबार) बेलुका वा पर्सि बिहानसम्ममा डेटा तथा ब्याकअप माइग्रेसन कार्य सम्पन्न हुनेछ," उनले भने, "त्यसपछि मात्रै विभागको सिस्टम नियमित हुनेछ ।"