फाइबर इन्टरनेटमा डिशहोमलाई उछिन्दै टेलिकम बन्यो दोस्रो ठुलो आईएसपी, यस्ता छन् शीर्ष १० कम्पनी
साउन ६, २०८३ १३:१३
काठमाडौं । नेपाली इन्टरनेट बजारमा सेवा प्रदायकबिच फाइबर (एफटीटीएच) इन्टरनेटको प्रतिस्पर्धा रोमाञ्चक बनिरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क (असार २०८३ सम्मको एमआईएस रिपोर्ट) अनुसार सरकारी स्वामित्वको नेपाल टेलिकमले निजी क्षेत्रको ठुलो प्रदायक डिशहोम (डिश मिडिया नेटवर्क) लाई पछि पार्दै फाइबर इन्टरनेटको दोस्रो ठुलो प्रदायक बन्न सफल भएको हो ।
विगत केही महिनादेखि दोस्रो र तेस्रो स्थानका लागि नेपाल टेलिकम र डिश मिडियाबिच तीव्र प्रतिस्पर्धा चल्दै आएको थियो । जेठ २०८३ सम्मको रिपोर्टमा डिश मिडिया टेलिकमभन्दा अगाडि रहे पनि असारको रिपोर्टमा टेलिकमले आक्रामक वृद्धि गर्दै दोस्रो स्थान सुरक्षित गरेको हो ।
पछिल्लो रिपोर्ट अनुसार नेपाल टेलिकमका फाइबर इन्टरनेट ग्राहक सङ्ख्या ३ लाख ९४ हजार ५ सय ५२ पुगेका छन् । जबकि डिशहोम ३ लाख ७४ हजार २ सय १८ ग्राहकसहित तेस्रो स्थानमा धकेलिएको छ । जेठ २०८३ मा टेलिकमसँग ३ लाख ५६ हजार ४ सय ८६ फाइबर ग्राहक मात्र थिए । जसको अर्थ एक महिनाको अवधिमा मात्रै टेलिकमले झन्डै ३८ हजार नयाँ फाइबर ग्राहक थपेको देखिन्छ ।
यसअघि २०८२ को अन्त्यतिर र २०८३ को सुरुवाती महिनाहरूमा डिशहोमले टेलिकमलाई उछिनेर दोस्रो स्थान कब्जा गरेको थियो । तर टेलिकमले ग्रामीण क्षेत्रमा फाइबर विस्तारलाई तीव्रता दिएसँगै पुनः आफ्नो पुरानो वर्चस्व कायम गरेको विश्लेषण गरिएको छ ।
इन्टरनेट बजारमा वर्ल्डलिंक कम्युनिकेसन्स अझै पनि निर्विवाद रूपमा पहिलो स्थानमा रहेको छ । पछिल्लो तथ्याङ्क अनुसार वर्ल्डलिंकसँग १० लाख ९१ हजार ७ सय ८० ग्राहक छन् । यो सङ्ख्या दोस्रो स्थानमा रहेको नेपाल टेलिकमको भन्दा झन्डै तीन गुणा बढी हो । वर्ल्डलिंकले कूल फिक्स्ड ब्रोडब्यान्ड बजारको ३० प्रतिशतभन्दा बढी हिस्सा एक्लै ओगटेको छ ।
चौथो स्थानमा रहेको भायानेट कम्युनिकेसन्स र डिशहोमबिचको अन्तर पनि निकै कम हुँदै गएको छ । भायानेटका अहिले ३ लाख ७३ हजार ८ सय ५१ ग्राहक छन् । जुन डिश मिडियाभन्दा मात्र केही सयले कम हो । त्यस्तै, २ लाख ९२ हजार २ सय ७२ ग्राहकसहित क्लासिक टेक पाँचौं स्थानमा रहेको छ ।
टप १० आईएसपी
असार २०८३ को पछिल्लो एमआईएस रिपोर्ट अनुसार नेपालका शीर्ष १० इन्टरनेट सेवा प्रदायकहरूको सूची र ग्राहक सङ्ख्या यस प्रकार छ:
१. वर्ल्डलिङ्क कम्युनिकेसन्स: १०,९१,७८०
२. नेपाल टेलिकम (फाइबर मात्र): ३,९४,५५२ ३.
३. डिशहोम: ३,७४,२१८
४. भायानेट कम्युनिकेसन: ३,७३,८५१
५. क्लासिक टेक: २,९२,२७२
६. सुबिसु केबलनेट: २,६८,६२२
७. वेबसर्फर नेपाल: १,७३,३४७
८. वाइफाई नेपाल: १,१८,७७८
९. टेकमाइन्ड्स नेटवर्क: १,१८,४१६
१०. सीजी कम्युनिकेसन्स: ९३,५३४
साना आईएसपीलाई अस्तित्व जोगाउन मुस्किल
पछिल्लो ३ वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा नेपाली इन्टरनेट बजार 'कन्सोलिडेसन' तिर मोडिएको देखिन्छ । साना र क्षेत्रीयस्तरका आईएसपीहरूको बजार हिस्सा खुम्चिँदै गएको छ भने टप ५ कम्पनीहरूले नै ७० प्रतिशतभन्दा बढी बजार ओगटेका छन् ।
विशेषगरी वाईफाई नेपाल जस्ता सस्ता प्याकेज ल्याउने कम्पनीहरूले आठौं स्थानसम्मको यात्रा छोटो समयमै तय गर्नुले नेपाली ग्राहक अझै पनि मूल्यप्रति संवेदनशील रहेको देखाउँछ । अर्कोतर्फ, चौधरी ग्रुपको सीजी कम्युनिकेसन्सले पनि विस्तारै आफ्नो उपस्थिति बलियो बनाउँदै टप १० मा स्थिर रहन सफल भएको छ ।
पछिल्लो अध्यावधिक: साउन ६, २०८३ १३:१३
