काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी) ले ‘पीएचडी फेस्टिभल २०८०’ गर्ने भएको छ । विश्वविद्यालयले कार्यक्रमबारे पहिलो सूचना जारी गर्दै आउँदो असोज २२ र २३ मा हुने उक्त कार्यक्रमबारे जानकारी दिएको हो ।
हाल भइरहेका विद्यावारिधिको गुणस्तर सुधार गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको आईओएसटीले जनाएको छ । दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा विद्यावारिधिबारे २५ ‘की नोट टक’ गरिने, विद्यावारिधिका विद्यार्थीको ४०० बढी पोस्टर विश्वविद्यालय परिसरमा प्रदर्शन गरिने, विद्यावारिधिको सय बढी विषयमा चर्चा गरिने र २०२२ को उत्कृष्ट विद्यावारिधि पुरस्कार प्रदान गरिने आईओएसटीद्वारा जारी सूचनामा उल्लेख छ ।
उक्त कार्यक्रममा आईओएसटीमा अध्ययनरत पीएचडी विद्यार्थी, पीएडी सुपरभाइजर/को-सुपरभाइजर, अन्य विश्वविद्यालयका पीएचडी विद्यार्थी आदिले सहभागी जनाउन सक्नेछन् ।
त्यस्तै आईओएसटीका पूर्व पीएचडी विद्यार्थी, त्रिविका अन्य सङ्कायका पीएचडी विद्यार्थी, विभिन्न उद्योगका व्यक्ति, इच्छुक विद्यार्थी लगायत आदिले कार्यक्रममा सहभागिता जनाउन सक्ने सूचनामा लेखिएको छ ।
त्रिविले सन् १९६८ मा पहिलो विद्यावारिधि प्रदान गरेको थियो । हालसम्म विज्ञान तथा प्रविधिको क्षेत्रमा त्रिविले २३३ विद्यावारिधि प्रदान गरेको छ । त्यस्तै अहिले १३ विषयमाथि विद्यावारिधि गराइरहेको र ४५६ विद्यार्थीले विद्यावारिधि गरिरहेको पनि सूचनामा उल्लेख छ ।