close

मेमोरी चिप महँगिएपछि एप्पलले विश्वभर म्याकबुक र आइप्याडको मूल्य बढायो

टेकपाना टेकपाना

असार १२, २०८३ ७:३३

मेमोरी चिप महँगिएपछि एप्पलले विश्वभर म्याकबुक र आइप्याडको मूल्य बढायो

काठमाडौं । एप्पलले विश्वभर म्याकबुक र आइप्याडको मूल्य बढाएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उद्योगले डेटा सेन्टर विस्तार तीव्र बनाएसँगै मेमोरी र स्टोरेज चिपको मूल्य आकासिएको छ । त्यसको प्रभावबाट ग्राहकहरूलाई जोगाउन नसकिएको भन्दै एप्पलले बिहीबार आइप्याड र म्याकबुकको मूल्य बढाएको छ ।

यस मूल्यवृद्धिले एप्पललाई सबैभन्दा धेरै आम्दानी दिने उत्पादन आईफोनलाई भने असर गर्ने छैन । तर विन्डोज र क्रोमबुक ल्यापटपको प्रतिस्पर्धीका रूपमा ल्याएको एप्पलको सस्तो ल्यापटप ‘नियो’ भने सार्वजनिक भएको केही महिनामै महँगो भएको छ । एप्पलले नियोको प्रारम्भिक मूल्य ५९९ अमेरिकी डलरबाट बढाएर ६९९ अमेरिकी डलर पुर्‍याएको छ ।

एआई उद्योगको तीव्र विस्तारले बढाएको मेमोरी चिपको मूल्यले स्मार्टफोन र पीसी बिक्रीको सम्भावनासमेत कमजोर बनाइरहेको छ । माइक्रोन जस्ता मेमोरी चिप उत्पादकहरूले पछिल्ला केही महिनादेखि एनभिडिया लगायत एआई चिप निर्माता कम्पनीका अर्डरलाई प्राथमिकता दिएका छन् । यसबाट उनीहरूले रेकर्ड नाफा कमाए पनि इलेक्ट्रोनिक्स सामान निर्माता कम्पनीहरूका लागि मेमोरी चिपको आपूर्ति घटेको छ । सोही कारण एप्पल लगायत कम्पनीहरू आफ्ना उत्पादनको मूल्य बढाउन बाध्य भएका छन् ।

गत साता एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले मेरोरी चिपको मूल्य बढेकाले एप्पलका उत्पादनहरूको मूल्य बढाउनु अपरिहार्य रहेको बताएका थिए । त्यसको १ सातापछि एप्पलले आईप्याड र म्याकबुकको मूल्य बढाएको हो । एप्पलले विज्ञप्तिमा भनेको छ, "यति छोटो अवधिमा कुनै पनि कम्पोनेन्टको मूल्य यति धेरै बढेको हामीले पहिले कहिल्यै देखेका थिएनौं । अहिलेसम्म हामीले ग्राहकलाई यसको प्रभावबाट जोगाउँदै आएका थियौं । तर अब हामी त्यस्तो अवस्थामा पुगेका छौं, जहाँ आइप्याड र म्याकसहित केही उत्पादनको मूल्य बढाउनुपर्ने आवश्यकता परेको छ ।"

एप्पलको वेबसाइटमा अद्यावधिक गरिएको मूल्यसूचीअनुसार ५१२ जीबी स्टोरेज भएको म्याकबुक एयरको मूल्य १ हजार ९९ अमेरिकी डलरबाट बढाएर १ हजार २९९ अमेरिकी डलर पुर्‍याइएको छ । त्यसैगरी १ टेराबाइट स्टोरेज भएको म्याकबुक प्रोको मूल्य १ हजार ६९९ अमेरिकी डलरबाट बढाएर १ हजार ९९९ अमेरिकी डलर बनाइएको छ।

यस्तै, १२८ जीबी स्टोरेज भएको आइप्याड एयरको प्रारम्भिक मूल्य ५९९ अमेरिकी डलरबाट बढाएर ७४९ अमेरिकी डलर पुर्‍याइएको छ । अन्य केही मोडेलको मूल्यमा पनि वृद्धि गरिएको कम्पनीले जनाएको छ । २५६ जीबी स्टोरेज भएको आइप्याड एयरको मूल्य पनि ९९९ डलरबाट बढेर ११ सय ९९ डलर पुगेको छ ।

 

पछिल्लो अध्यावधिक: असार १२, २०८३ ७:४०