close

नेपालको ६० प्रतिशत इन्टरनेट ट्राफिकको स्रोत युट्युब, फेसबुक र टिकटक

टेकपाना टेकपाना

असार २५, २०८० १८:४८

नेपालको ६० प्रतिशत इन्टरनेट ट्राफिकको स्रोत युट्युब, फेसबुक र टिकटक

काठमाडौं । नेपालमा झन्डै ६० प्रतिशत इन्टरनेट ट्राफिकको स्रोत युट्युब, फेसबुक र टिकटकबाट आउने गरेको पाइएको छ ।  नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनोग) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कूल इन्टरनेट ट्राफिकमध्ये यी प्लेटफर्ममार्फत बढी ट्राफिक आउने गरेको छ ।

एनपीनोगले गरेको अनुसन्धानमा नेपालमा इन्टरनेट प्रयोगकर्ताहरूबीच युट्युब, फेसबुक र टिकटकको अत्यधिक लोकप्रियता भएको देखिएको हो । उक्त संस्थाले सार्वजनिक गरेको प्रतिवेदन  अनुसार नेपालको कूल इन्टरनेट ट्राफिकमध्ये १८.६ प्रतिशत टिकटकबाट, १९.६ प्रतिशत फेसबुकबाट र २०.२ प्रतिशत गुगलबाट आउने गरेको छ ।

एनपीनोगका अध्यक्ष समित जनले सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उक्त डेटा सार्वजनिक गर्दै नेपालमा अन्य कन्टेन्ट नेटवर्क  प्लेटफर्मबाट निकै कम ट्राफिक आउने गरेको बताए । 

प्रायः मानिसहरू भिडिओ सामग्री हेर्नका लागि युट्युब प्रयोग गर्छन् । सामाजिक सञ्जाल तथा समाचार शेयर गर्न फेसबुक प्रमुख प्लेटफर्म नै बनेको छ । त्यस्तै पछिल्लो समय नेपालमा छोटा भिडिओ शेयर गर्ने प्लेटफर्म टिकटक पनि लोकप्रिय बन्दै गएको छ । यी तीन प्रमुख प्लेटफर्म नेपाली प्रयोगकर्तामाझ बढी चर्चित भएकाले बढी ट्राफिक यसैबाट आउने गरेको छ ।

यो तथ्यांकले अन्य प्लेटफर्महरूले नेपाली बजारमा उल्लेखनीय उपस्थिति स्थापित गर्न संघर्ष गरिरहेको कुरालाई प्रकाश पारेको छ ।

पछिल्लो अध्यावधिक: असार २५, २०८० १८:४८