close

रास्वपा महाधिवेशनमा विद्युतीय भोटिङ, किन लाग्यो १२ घण्टाको समय ?

टेकपाना टेकपाना

असार ११, २०८३ १३:२४

रास्वपा महाधिवेशनमा विद्युतीय भोटिङ, किन लाग्यो १२ घण्टाको समय ?

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मसिनबाट मतदान गरिए पनि प्रक्रिया पूरा हुन १२ घण्टा बढी समय लागेको छ ।

हिजो मध्यराति करिब १२ः३० बजेदेखि सुरु भएको मतदान भर्खरै सकिएको छ । मतदानका लागि पार्टीले नेपालमै राम लक्ष्मण ग्रुपले उत्पादन गरेको विद्युतीय मसिन प्रयोगमा ल्याएको छ । ८० वटा मसिनबाट ९९ जना केन्द्रीय सदस्यका लागि मतदान भएको हो । 

निर्वाचनमा केन्द्रीय सदस्य पदका लागि ३८४ जनाको उम्मेदवारी परेको थियो । एक मतदातालाई मतदान गर्न औसतमा २० मिनेटजति लागेको राम-लक्ष्मण ग्रुपका सहसंस्थापक राम रिमालले जानकारी दिए ।

“एकजना मतदाताले ९९ वटै उम्मेदवारलाई स्वस्तिक छाप लगाउनुको सट्टा मसिनमा छनोट गर्नुपर्ने भएकाले समय लागेको हो,” रिमालले टेकपानासँग भने ।

यद्यपि, मसिनले गणना भने छिटो गर्ने उनले सुनाए । रिमालका अनुसार निर्वाचन सम्पन्न भएको करिब दुई घण्टाभित्रै परिणाम सार्वजनिक गर्न सकिन्छ ।

“कानुनी प्रक्रिया र मुचुल्का उठाउन केही समय लाग्छ, तर मसिनले ३० देखि ४५ मिनेटभित्रै गणना सम्पन्न गर्न सक्छ,” उनले भने ।

यसअघि उम्मेदवारहरूको डेटा इन्ट्री, प्रतिनिधि दर्ता तथा प्रमाणीकरणमा भएको ढिलाइका कारण समग्र प्रक्रिया लम्बिएको थियो । ठुलो संख्यामा उम्मेदवार र प्रतिनिधिका कारण प्राविधिक तयारी पर्याप्त हुन नसकेको रिमालले सुनाए ।

रास्वपाको विधानअनुसार कुल १५८ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना निर्वाचनमार्फत आउनेछन् भने बाँकी सदस्यहरू पछि मनोनीत गरिनेछ । सभापति पदमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । केन्द्रीय सदस्यहरूको निर्वाचन सकिएपछि मात्र दोस्रो चरणमा पदाधिकारीहरूको चयन हुनेछ ।

पछिल्लो अध्यावधिक: असार ११, २०८३ १३:४६