close

डीआरएस गेमिङ सहभागी ४० करोड रुपैयाँ पुरस्कार राशि भएको प्रतियोगिता आजदेखि सुरु हुँदै

टेकपाना टेकपाना

असार २६, २०८० १२:४९

डीआरएस गेमिङ सहभागी ४० करोड रुपैयाँ पुरस्कार राशि भएको प्रतियोगिता आजदेखि सुरु हुँदै

काठमाडौं । नेपाली पब्जी टिम ‘डीआरएस गेमिङ’ सहभागी पब्जी प्रतियोगिता ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल (पीएमडब्लूआई) २०२३’ आजबाट सुरु हुँदैछ । करिब ४० करोड रुपैयाँ पुरस्कार राशि राखिएको यो प्रतियोगिता दुई चरणमा सम्पन्न हुनेछ । 

यसअन्तर्गत ‘डीआरएस गेमिङ’ले प्रतियोगिताको पहिलो चरण अर्थात अलस्टार्स स्टेजमा प्रतिस्पर्धा गर्ने भएको छ । 

यो चरणको खेल आज मंगलबारदेखि बिहिबारसम्म चल्नेछ । पहिलो चरणको खेलबाटै दोस्रो चरण वा मेन टुर्नामेन्ट कुनकुन टिमले खेल्नेछन् भन्ने टुङ्गो लाग्छ । अलस्टार्स स्टेजमा १८ टिमले प्रतिस्पर्धा गर्दैछन् । जसमध्ये अङ्क तालिकाको शीर्ष पाँच टिमले मात्र मेन टुर्नामेन्ट खेल्न पाउने बताएको छ । बाँकी १३ टिम प्रतियोगिताबाट नै बाहिरिने छन् ।

मेन टुर्नामेन्टमा पब्जीको नौ क्षेत्रका १० टिम, एक आमन्त्रित टिम र अलस्टार्स स्टेजबाट आएका पाँच टिम गरी कुल १६ टिमले भिड्ने छन् । मेन टुर्नामेन्टको खेल १४ जुलाईदेखि १६ जुलाईसम्म हुनेछ । 

‘डीआरएस गेमिङ’ले भने मेन टुर्नामेन्टमा स्थान बनाउनका लागि अलस्टार्स स्टेज पार गर्नुपर्ने हुन्छ । अलस्टार्स स्टेजका लागि करिब १३ करोड रुपैयाँ र मेन टुर्नामेन्टको लागि करिब २६ करोड रुपैयाँ छुट्याइएको छ । यो प्रतियोगिता साउदी अरेबियाको रियादमा हुँदैछ । 

यस प्रतियोगिताको लाइभ बेलुका ४:४५ देखि ‘पब्जी मोबाइल ई-स्पोर्ट्स’को फेसबुक पेज तथा युट्युब च्यानलबाट हेर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असार २६, २०८० १२:५४