close

देशको प्रतिनिधित्व गर्ने लोभमा नेपाली पब्जी टिम डीआरएसले गुमाएको थियो साउदीको करोडौँको अफर

टेकपाना टेकपाना

कात्तिक २७, २०८१ १२:६

देशको प्रतिनिधित्व गर्ने लोभमा नेपाली पब्जी टिम डीआरएसले गुमाएको थियो साउदीको करोडौँको अफर

काठमाडौं । आफ्नो देशको नाम र झन्डाको लोभमा नेपाली पब्जी टिम डीआरएस गेमिङले साउदी अरेबियाबाट आएको करोडौंको अफर अस्वीकार गरेको तथ्य बाहिरिएको छ । डीआरएस गेमिङका सञ्चालक भिक्टर पौडेलले करिब दुई वर्ष अघि डिल अस्वीकार गर्नुको कारण खुलाएका हुन् ।

यो सन्दर्भ पब्जी विश्वकप भनेर चिनिने पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप-पीएमजीसी २०२२ आयोजना हुनु ठिक अघिको हो । उक्त प्रतियोगितामा डीआरएस गेमिङले इतिहास रच्दै दोस्रो स्थान हात पार्न सफल भएको थियो ।

पौडेलका अनुसार साउदी टिमले एक वर्षका लागि डीआरएस गेमिङको टिमलाई लिन खोजेको र त्यसका लागि मासिक करिब २० हजार अमेरिकी डलरमा कुराकानी भइरहेको थियो । आजको विनिमय दर अनुसार सो मूल्य भनेको वार्षिक करिब ३ करोड रुपैयाँ हाराहारी हो ।

"उनीहरूले हाम्रो टिमको नाम डीआरएसलाई आफ्नो टिमको नामसँग जोड्ने र स्क्वाडमा थप खेलाडी समेत राख्ने, तर टिमले भने पीएमजीसीमा साउदीको राष्ट्रिय झन्डालाई प्रतिनिधित्व गर्नुपर्ने सर्त राखेका थिए," उनले भने, "जुम मिटिङमा भएको सात आठ चरणको छलफल पश्चात डिल पनि लगभग टुङ्गिसकेको थियो । तर हामीले नेपालको नाम र झन्डा राख्न नपाउने भएपछि तत्कालै अफर अस्वीकार गरिदियौं ।"

प्रोफाइलमा नेपाल र साउदी दुवै देशको नाम राख्न साउदी टिमका लगानीकर्ता तयार भए पनि उनीहरू टिमले भने साउदी अरेबियालाई मात्र प्रतिनिधित्व गर्नुपर्ने अडानमा थिए । आसन्न पीएमजीसीलाई नै लक्षित गर्दै उनीहरूले डीआरएसमा लगानी गर्न खोजीरहेका थिए ।

तर सरकारको लगानी र साथ शून्य भए पनि 'नेपाल' नाम र झन्डाकै मायाले आफूहरूले सो प्रस्ताव नमानेको पौडेलले सुनाए । "तर अहिले भने त्यस्तो निर्णय लिएकोमा पछुतो लागिरहेको छ... नेपालमा ई-स्पोर्ट्स मर्दै गइरहेको छ ।"

तत्कालीन समयमा डीआरएस गेमिङ टिमको मासिक खर्च चार-पाँच हजार अमेरिकी डलर थियो । पाँच गुणा बढीको अफर आउँदा समेत टिमले नेपालको नाम र झन्डा छोड्न मानेन । 

त्यसो त अन्य प्रतिस्पर्धामा समेत नेपाली ई-स्पोर्ट्स खेलाडीहरूलाई आकर्षक अफर नआएका होइनन् । चिनियाँ टिम नोभाले एसियन गेम्सका लागि डीआरएससँगै दुई जना खेलाडी ऋणमा लैजाने अफर गरेको थियो । तर डेल्टा र रुल्ज नामले चिनिने दुवै खेलाडीले आफ्नै देशलाई प्रतिनिधित्व गर्ने इच्छा देखाएपछि सो अफर समेत डीआरएस गेमिङले लत्याई दियो ।

यदि नोभाको अफर स्वीकार गरेको भए खेलाडीहरूले मासिक ३/४ लाख रुपैयाँ पाउने थिए भने डीआरएस गेमिङले समेत आकर्षक लाभ पाउने थियो ।

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०८१ १२:७