close

एनसीआईटीमा विद्यार्थीले बनाएका प्रोजेक्टको प्रदर्शनी तथा करियर मेला हुँदै

टेकपाना टेकपाना

साउन १२, २०८० १७:५२

एनसीआईटीमा विद्यार्थीले बनाएका प्रोजेक्टको प्रदर्शनी तथा करियर मेला हुँदै

काठमाडौं । बालकुमारीस्थित नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी)ले भोलि शनिबार आफ्नो वार्षिक कार्यक्रम एनसीआईटी फेस्ट आयोजना गर्ने भएको छ । यसअन्तर्गत कलेजको स्नातक तहमा अध्ययनरत कम्प्युटर इन्जिनियरिङ, सफ्टवेयर इन्जिनियरिङ, आईटी इन्जिनियरिङ र बीसीएका विद्यार्थीहरूले बनाएका विभिन्न परियोजनाको प्रदर्शनी तथा करियर फेयर हुने भएको हो ।

उक्त फेस्टमा स्नातक तह अन्तिम वर्षका विद्यार्थीले तयार पारेका ६० बढी परियोजना र ५० बढी कम्पनी सहभागी हुने आयोजकले जनाएको छ । निःशुल्क अवलोकन गर्न सकिने फेस्टमा विशेष गरेर प्रदर्शनीमा सूचना प्रविधिसँग सम्बन्धित विभिन्न प्रोजेक्टहरू राखिने भएको छ ।

यसअन्तर्गत ई-स्वास्थ्य, सानो लगानी, डिजास्टर न्युज क्लासिफिकेसन, पी-टू-पी लेन्डिङ एप, भर्चुअल फिटनेस कोच, हेल्थ मेट, डिस्कभरिङ नेपाल लगायतका परियोजना छन् ।

बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने फेस्टमा उत्कृष्ट परियोजनाहरूलाई सम्मान समेत गरिने भएको छ । साथै सोही दिन ४० स्टार्टअप आईडियाको बिजनेस प्लान समेत प्रस्तुत हुनेछ ।

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित टेक्नोप्रेनरशिपमा सहभागी विद्यार्थीले उक्त प्रस्तुति दिने भएका हुन् । यस फेस्टले कम्पनी र  विद्यार्थीबीच सम्बन्ध स्थापना हुने कलेजको अपेक्षा छ ।

पछिल्लो अध्यावधिक: साउन १२, २०८० १७:५२