close

१३ लाख पुरस्कार राशिको एमआईटी ग्लोबल च्यालेन्जको फाइनलमा नेपाली स्टार्टअप, जित्न भोट चाहिने

टेकपाना टेकपाना

साउन १६, २०८० १२:३३

१३ लाख पुरस्कार राशिको एमआईटी ग्लोबल च्यालेन्जको फाइनलमा नेपाली स्टार्टअप, जित्न भोट चाहिने

 

काठमाडौं । ब्लकचेनमा आधारित नेपाली स्टार्टअप रुम्सन (Rumsan) को उत्पादन ‘राहत बीमा’ म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) सल्भ २०२३ ग्लोबल च्यालेन्जको फाइनलका लागि छनोट भएको छ । 

प्रविधिको क्षेत्रमा काम गर्ने संसार भरका १५०० बढी कम्पनीहरू मध्ये उत्कृष्ट १५ मा स्थान बनाउँदै राहत बीमा प्रतिस्पर्धाको अन्तिम चरणमा प्रवेश गरेको हो । विश्वका प्रमुख समस्याहरूको दिगो समाधान खोज्ने प्रयासको रूपमा एमआईटीले वार्षिक रूपमा यो कार्यक्रम आयोजना गर्दै आएको छ । 

यस वर्ष अर्थ, शिक्षा, जलवायु, स्वास्थ्य लगायतका पाँच क्षेत्रमा भएका विश्वव्यापी समस्याको समाधान पेश गर्न एमआईटीले आवेदन खुलाएको थियो । त्यसै अनुसार राहत वित्तीय समावेशीकरण विधाबाट उत्कृष्ट १५ मा पर्न सफल भएको हो । 

रुम्सनले तयार पारेको उक्त परियोजना ब्लकचेन प्रविधिमा आधारित एक बीमा प्रणाली हो । यसबाट काम छिटो, सस्तो र पारदर्शी तरिकाले सम्पन्न गर्न सकिने कम्पनीको भनाई छ ।

विपद्को समयमा यस परियोजनाले राहत वितरण गर्न मानिसहरूलाई महत्त्वपूर्ण सहयोग प्रदान गर्ने कम्पनीले जनाएको छ । रुम्सनका अनुसार अनुदान तथा सहयोग स्वरूप वितरण गरिने बजेटमा हुने चुहावट रोक्न, सबैलाई समान तरिकाले सहयोग वितरण गर्न दाताहरूलाई ‘राहत बीमा’ले सहयोग गर्नेछ ।

नगद र भौचरसँग सम्बन्धित यो प्लेटफर्मलाई कम्पनीले युनिसेफको आर्थिक सहयोगमा विकास गरेको हो । त्यस्तै महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा यसको पाइलट परियोजना सुरु गरिएको कम्पनीकी कम्युनिकेसन एसोसियट स्मृति क्षेत्रीले बताइन् ।

अहिले त्यही परियोजना विश्वव्यापी समस्या समाधान गर्नका निम्ति एमआईटी सल्भ २०२३ को अन्तिम चरणमा प्रवेश गरेको हो । अब एमआईटी सल्भर टीम (MIT Solver team) मा पर्न बीमालाई उत्कृष्ट छ भित्र अटाउनु पर्ने हुन्छ ।

त्यसमा पर्ने प्रत्येक टोलीले १० लाख अमेरिकी डलर (१३ करोड १३ लाख रुपैयाँभन्दा बढी) राशिको पुरस्कार पाउनेछन् । साथै एमआईटीसँग प्रत्यक्ष रूपमा काम गर्ने अवसर समेत उपलब्ध हुने बताइएको छ । 

आउँदो १८ सेप्टेम्बरमा हुने यसको फाइनल प्रतिस्पर्धामा सबैभन्दा धेरै भोट पाउने समूहले ‘कम्युनिटी अवार्ड’ प्राप्त गर्नेछ । यसका लागि रुम्सनले सबैलाई भोट गर्न अपील समेत गरेको छ । राहत बीमा बारे थप जान्न वा भोट गर्न यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: साउन १६, २०८० १२:३४