close

गर्भवती, सुत्केरी र बच्चाको पोषण तथा स्वास्थ्यका लागि मोबाइलमा राख्नैपर्ने सरकारी एप

टेकपाना टेकपाना

भदौ ११, २०८० १७:१३

गर्भवती, सुत्केरी र बच्चाको पोषण तथा स्वास्थ्यका लागि मोबाइलमा राख्नैपर्ने सरकारी एप

काठमाडौं । गर्भवती, सुत्केरी, बालबालिका, किशोरी र वृद्धको स्वास्थ्य तथा स्याहारमा सघाउने सरकारी एप ‘मेरो पोषण साथी’ सार्वजनिक भएको छ । आइतवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको यो एपमा स्याहार, खानपान र स्वास्थ्य सेवाको उपभोगसम्बन्धी सामयिक र उपयोगी महत्त्वपूर्ण जानकारी राखिएका छन् । 

नेपाली भाषामा प्रयोग गर्न सकिने यो एपले राखेको विवरणको आधारमा गर्भावस्था वा बच्चाको तौल, खानपान, उमेर लगायतका रेकर्ड राख्छ र त्यसैअनुसार आवश्यक स्वास्थ्य व्यवहारहरूको बारेमा जानकारी दिन्छ । 

सबै नागरिकसम्म स्वास्थ्य र पोषणसम्बन्धी महत्त्वपूर्ण र उपयोगी जानकारी पुर्‍याउन मेरो पोषण साथी मोबाइल एप र डिजिटल लाइब्रेरी सुरुवात गरिएको मन्त्रालयले जनाएको छ । अमेरिकी सहयोग नियोग (यूएसएड) सहकार्यमा सरकारले यो एप ल्याएको हो । 

आफू र आफ्नो परिवारको स्वास्थ्य र पोषण अवस्था राम्रो बनाउन निकै उपयोगी हुने ठानिएको यो एप नजान्नेहरूको सिकाइका लागि भिडिओ ट्युटोरियल समेत तयार पारिएको छ । विशेषगरी गर्भवती, सुत्केरी, बच्चाका लागि तयार पारिएको यो एप किशोरी वा वृद्धहरूका लागि समेत उपयोगी छ । 

एपमा गर्भवती, सुत्केरी, शिशु तथा बालबालिका, स्तन पान, बिरामी बच्चाको हेरचाह, किशोर किशोरी आदि अवस्था अनुसारका पोषण  सम्बन्धी जानकारी राखिएका छन् । उदाहरणका लागि गर्भवतीको पोषण जानकारीमा गर्भवतीको खानपान, गर्भ जाँच, सरसफाई र आराम जस्ता विस्तृत जानकारी पाउन सकिन्छ ।

व्यक्तिगत विवरण राखेर एप प्रयोग गर्नेहरूलाई नोटिफिकेसनबाटै एपले महत्त्वपूर्ण जानकारी दिने गर्छ ।  

त्यस बाहेक तौल जाँच, खानाको प्रकार जाँच, स्तनपानको समय सम्झाउने टाइमर, बीएमआई जाँच आदिका विकल्प पनि एपभित्रै उपलब्ध छन् । 

त्यस्तै नजिकै रहेको स्वास्थ संस्था, पोषण पुनर्स्थापना केन्द्र, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न आवश्यक जानकारी सहितका भिडिओ सामग्री लगायतका स्वास्थ्य सेवा सम्बन्धी अन्य जानकारी समेत एपबाटै पाउन सकिन्छ । 

एक पटक डाउनलोड गरिसकेपछि इन्टरनेट नहुँदा समेत प्रयोग गर्न सकिने गरी यो एप तयार पारिएको छ । जसले गर्दा एपको आकार करिब ६० एमबी रहेको छ । 

 

कसरी प्रयोग गर्ने ? 

-हाल एन्ड्रोइडमा मात्र उपलब्ध मेरो पोषण साथी एप गुगल प्ले स्टोरमा गएर ‘mero poshan sathi’ सर्च  अथवा यहाँ क्लिक गर्नुहोस् । 

-डाउनलोड तथा इन्स्टल भइसकेपछि एप खोल्नुहोस् र लगातार तीन पल्टसम्म ‘अर्को’ लेखिएको स्थानमा थिच्नुहोस् । 

-अब त्यहाँ तपाईंले एप प्रयोग गर्ने तरिका सिकाइएको भिडिओ हेर्ने कि सोझै एप सुरु गर्ने भन्ने दुई विकल्प देख्नु हुनेछ । त्यसमा ‘सुरु गर्नुहोस्’ लेखिएको स्थानमा ट्याप गर्नुहोस् ।

-त्यसपछि नयाँ प्रयोगकर्ताका लागि सुरुको विकल्पमा थिचेर साइनअप गर्नुहोस् ।

-साइनअपका लागि गुगल आईडी अर्थात् जिमेल अकाउन्टबाट वा अन्य विकल्प अपनाउन सक्नु हुनेछ ।

-यदि  गुगलमा थिच्नु भयो भने त्यहाँ तपाईंले आफ्नो जिमेल आईडी छान्नुपर्ने हुन्छ । त्यसो गर्दा एपमा अकाउन्ट खोल्नका लागि तपाईंका आवश्यक जानकारी स्वतः भरिन्छन् ।

-दोस्रो विकल्प छान्नु भयो भने त्यहाँ क्रमशः आफ्नो नाम, फोन नम्बर, ईमेल, पासवर्ड राखेर अन्तिममा रहेको बुझाउनुहोस् लेखिएको स्थानमा दबाउनु पर्ने हुन्छ ।

-यति गरिसकेपछि एपमा तपाईंको खाता खुल्छ । त्यसपछि आफू कुन अवस्थामा हुनुहुन्छ, सोही अनुसारको विकल्प अर्थात् गर्भवती, सुत्केरी, बच्चा अथवा अन्य अवस्था मध्ये कुनै एउटा रोज्नुहोस् । 

-यदि गर्भवती छनौट गर्नुभयो भने अन्तिम महिनावारी मिति, सुत्केरी वा बच्चा हो भने बच्चाको नाम, लिङ्ग, जन्म मिति र तौल जस्ता विवरण खुलाउनु होस् ।

पछिल्लो अध्यावधिक: भदौ ११, २०८० १७:३६