चर्को विरोधपछि मेटाले हटायो इन्टाग्राम प्रयोगकर्ताका नक्कली एआई तस्विर बनाउन सकिने फिचर
असार २८, २०८३ १०:२५
काठमाडौं । इन्स्टाग्राम प्रयोगकर्ताका तस्विरलाई सन्दर्भ (रेफरेन्स) लिएर एआई तस्विर बनाउन सकिने फिचर बन्द गरेको छ । कम्पनीले आफ्नो इन्स्टाग्राम ब्लगलाई अपडेट गर्दै यस्तो घोषणा गरेको हो ।
"यसै साताको सुरुमा हामीले मेटा एआई मार्फत तस्बिरहरू बनाउन प्रयोगकर्ताले आफूले चाहेको पब्लिक इन्स्टाग्राम अकाउन्टलाई @-मेन्सन गरेर सन्दर्भ लिन सक्ने एउटा तरिका सार्वजनिक गरेका थियौं," कम्पनीले लेखेको छ, "हाम्रो उद्देश्य प्रयोगकर्ताहरूलाई उपयोगी र रचनात्मक टुल प्रदान गर्नुका साथै आफ्ना सार्वजनिक सामग्रीहरूलाई यसरी सन्दर्भका रूपमा प्रयोग गर्न दिने वा नदिने भन्ने नियन्त्रण उनीहरूकै हातमा सुम्पनु थियो । तर, यो फिचरले हाम्रो उद्देश्य पुरा गर्न नसकेको भन्ने प्रतिक्रियाहरू हामीले पायौं, त्यसैले अब यो फिचर उपलब्ध हुने छैन ।"
मेटाको एआई युनिट मेटा सुपरइन्टेलिजेन्स ल्याब्सको पहिलो इमेज-जेनेरेसन मोडेल म्युज इमेज प्रयोग गरी इन्स्टाग्राम स्टोरिजका लागि ३० भन्दा बढी नयाँ एआई आधारित इफेक्टसँगै मङ्गलबार यो फिचरको घोषणा गरिएको थियो । इन्स्टाग्रामका अनुसार यी नयाँ इफेक्टहरूले प्रयोगकर्तालाई केवल एक ट्यापमै तस्बिरहरू परिमार्जन गर्न सघाउँछन् भने रिडिजाइन गरिएको एडिटिङ कम्पोजरले प्रयोगकर्तालाई एआईद्वारा सम्पादित तस्बिर शेयर गर्नुअघि त्यसको प्रिभ्यु हेर्न दिन्छ ।
यो नयाँ फिचर अन्तर्गत मेटाले प्रयोगकर्ताहरूलाई मेटा एआईमा पब्लिक इन्स्टाग्राम अकाउन्टहरूलाई @-मेन्सन गरेर ती अकाउन्टसँग सम्बन्धित क्रियटिभ तस्बिरहरू बनाउन सक्ने सुविधा दिएको थियो । यसबाट व्यक्तिगत जन्मदिनका कार्डहरू, सामूहिक यात्राका मिमहरू र अन्य सम्पादित तस्बिरहरू सिर्जना गर्न सकिन्थ्यो ।
पछिल्लो अध्यावधिक: असार २८, २०८३ १०:२५
