काठमाडौं । नेदरल्यान्डको विद्युतीय उपकरण निर्माता कम्पनी फेयरफोनले १० वर्षसम्मको सफ्टवेयर सपोर्ट हुने फोन सार्वजनिक गरेको छ । ‘फेयरफोन फाइभ’ नाम दिइएको याे फोन बुधबार सार्वजनिक गरिएको हो ।
फेयरफोन फाइ को एक मात्र भर्सनका रूपमा बजारमा आएको यो फोन अन्तर्राष्ट्रिय बजारमा प्रि-अर्डरका लागि खुलाइएको छ ।
कम्पनीका अनुसार यो फोन ७० प्रतिशत रिसाइकल सामग्रीले बनाइएको हो । त्यस्तै कम्पनीले फोनसँग उपलब्ध गराएको बक्समा प्रयोगकर्ताले आफ्नो पुरानो फोन रिसाइकलका लागि पठाउन सक्नेछन् ।
त्यसपछि कम्पनीले प्रयोगकर्तालाई नयाँ फोन उपलब्ध गराउने बताएको छ । पाँच वर्षसम्मको वारेन्टी र आठ वर्षसम्मको सफ्टवेयर अपडेका साथ यो फोन बजारमा उपलब्ध हुनेछ ।
त्यसबाहेक पनि फोन पछिसम्म सकुशल रहे १० वर्षसम्मको सफ्टवेयर अपडेट उपलब्ध गराउने कम्पनीले प्रतिवद्धता दिएको छ । हाल एन्ड्रोइड १३ मा उपलब्ध हुने सो फोनले पाँच ओटा ओएस अपडेट पाउने कम्पनीको दाबी छ ।
यसको अर्थ फेयरफोन फाइभले एन्ड्रोइड १८ सम्मको अपडेट सपोर्ट गर्नेछ । त्यसबाहेक पनि फोन बिग्रिएको अवस्थामा प्रयोगकर्ताले घरै फोन मर्मत गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।
कस्तो छ फेयरफोन फाइभ ?
कम्पनीका अनुसार फेयरफोन फाइभमा ९० हर्ज रिफ्रेस रेटको ६.४६ इन्च ओएलईडी डिस्प्ले छ । सो डिस्प्लेको सुरक्षाका लागि कम्पनीले गोरिल्ला ग्लास फाइभ उपलब्ध गराउनेछ । फेरयफोनले यो मोडेलमा पन्चहोल सेल्फी क्यामेरा उपलब्ध गराएको छ । यसमा ५० मेगापिक्सेलको सामसङ जेएन वान क्यामेरा दिइएको छ ।
यसको पछाडिपट्टि दुई ओटा क्यामेरा छन् जसमा एउटा ५० मेगापिक्सेलको सोनी आईएमएक्स ८०० र अर्को ५० मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा छ । क्वाल्कम क्यूसीएम ६४९० चिपसेटद्वारा सञ्चालित यो फोनमा एड्रेनो ६४३ एल जीपीयू दिइएको छ । यो फोन ८ जीबी र्याम र २५६ जीबी इन्टर्नल स्टोरेजमा उपलब्ध छ ।
फोनमा ४२०० एमएएच क्षमताको ब्याट्री दिइएको छ । यसले ३० वाटको फास्ट चार्जर सपोर्ट गर्ने कम्पनीको भनाइ छ । सो चार्जरले २० मिनेटमै फोन ५० प्रतिशत चार्ज गर्ने कम्पनीको दाबी छ । यसमा वायरलेस चार्जरको सुविधा भने छैन ।
कम्पनीले यो फोनको मूल्य ६९९ युरो (करिब एक लाख रुपैयाँ) तोकेको छ ।