close

अमेजनका डेटा सेन्टरहरूले १ वर्षमा प्रयोग गरे ९.४६ अर्ब लिटर पानी ! अरूभन्दा किफायती भएको दाबी

टेकपाना टेकपाना

जेठ २९, २०८३ १८:५६

अमेजनका डेटा सेन्टरहरूले १ वर्षमा प्रयोग गरे ९.४६ अर्ब लिटर पानी ! अरूभन्दा किफायती भएको दाबी

 

काठमाडौँ । विश्वको सबैभन्दा ठुलो क्लाउड कम्प्युटिङ कम्पनी अमेजनको विश्वभर रहेका डेटा सेन्टरहरूले एक वर्षमा २.५ अर्ब ग्यालन (९.४६ अर्ब लिटर) पानी प्रयोग गरेका छन् । गत वर्ष अर्थात् सन् २०२५ मा आफ्ना डेटा सेन्टरहरुले खपत गरेको उक्त पानी प्रतिस्पर्धीहरूको तुलनामा किफायती भएको पनि दाबी गरेको छ । अमेजनले प्रविधि उद्योगका अन्य ठुला प्रतिस्पर्धीहरू भन्दा बढी कुशलतापूर्वक सर्भर फार्महरूलाई चिसो पार्ने दाबी गरेको छ ।

डेटा सेन्टरहरूले प्रयोग गर्ने पानी र बिजुलीबारे राजनीतिक रूपमा संवेदनशील बहस भइरहँदा अमेजनले यो तथ्याङ्क सार्वजनिक गरेको हो । अमेजनको मुख्यालय रहेको सियाटलसहित अमेरिकाका अन्य केही राज्य र सहरहरूले नयाँ सर्भर फार्महरूको निर्माणमा अस्थायी प्रतिबन्ध लगाउने तयारी गरिरहेका छन् । कतिपय राज्यहरूले डेटा सेन्टरहरूलाई प्रतिबन्ध समेत लगाइसकेका छन् ।

यता, अमेजनले भने डेटा सेन्टरहरूमा पानीको प्रयोगलाई किफायती बनाउन सफल भएको दाबी गरेको छ । सन् २०२१ को तुलनामा ५२ प्रतिशत कम पानी खर्च गरेर पनि आफ्ना डेटा सेन्टरहरूले उति नै काम गर्न सफल भएको जनाएको छ ।

अमेजनले सन् २०२५ मा आफ्ना विश्वव्यापी डाटा सेन्टर सञ्चालनमा प्रति किलोवाट-घण्टा ०.१२ लिटर मात्र पानी प्रयोग भएको जनाएको छ । आफ्ना डेटा सेन्टरहरूले प्रयोग गरेको पानी उद्योगीक औसत ०.८४ लिटर प्रति किलोवाट-घण्टाको तुलनामा ७ गुणा बढी किफायती भएको अमेजनको दाबी छ ।

अमेजनले डेटा सेन्टरहरूलाई करिब ९० प्रतिशत समय हावाबाट निःशुल्क चिस्याउने गरेको छ । बाहिरी हावाको उपयोग गर्ने भएकाले पानीको ठुलो आवश्यकता नपर्ने अमेजनको भनाइ छ । पानी मुख्यतः अत्यधिक गर्मी हुने समयमा वाष्पीकरणमा आधारित कुलिङ प्रणाली मार्फत प्रयोग गरिने अमेजनले जानकारी गराएको छ ।

अमेजनले सन् २०३० सम्म डेटा सेन्टर सञ्चालनमा प्रयोग हुने प्रत्येक ग्यालन पानीको बदलामा स्थानी समुदायहरूमा त्योभन्दा बढी पानी फिर्ता पठाउने अर्थात 'वाटर पोजिटिभ' बन्ने लक्ष्यको करिब ७५ प्रतिशत पूरा गरिसकेको पनि जनाएको छ । सन् २०२५ मा प्रत्येक ४ ग्यालन पानीको बदलामा ३ ग्यालन पानी फिर्ता गरेको पनि कम्पनीको दाबी छ ।

पछिल्लो अध्यावधिक: जेठ २९, २०८३ १८:५७