close

आफ्नो एप्पल आईडी बिर्सिनु भयो ? फेला पार्न यसो गर्नुहोस्

टेकपाना टेकपाना

कात्तिक २०, २०८० ११:३३

आफ्नो एप्पल आईडी बिर्सिनु भयो ? फेला पार्न यसो गर्नुहोस्

काठमाडौं । एप्पल इकोसिस्टमका लागि एप्पल आईडी सामाजिक सुरक्षा कार्ड नै हो । अर्को शब्दमा भन्नु पर्दा त्यो तपाईंको एप्पल परिचय पत्र हो, जुन तपाईंले कुनै पनि बेला नयाँ डिभाइस लगइन गर्दा अथवा तपाईंले आफू भनेको व्यक्ति आफैं हो भन्ने कुरा प्रमाणित गर्दा चाहिन्छ ।

त्यसैले यस्तो महत्त्वपूर्ण आफ्नो एप्पल आईडी बिर्सिनु भयो भने तपाईंलाई ठुलै आपत आइपर्न सक्छ । यद्यपि बिर्सिएको एप्पल आईडी फेला पार्न सकिने केही उपाय पनि छन्, जसमध्ये केही तरिका सहज पनि छन् ।

साइन भइरहेको एप्पल आईडी कसरी फेला पार्ने ?

यदि तपाईंको डिभाइसमा एप्पल आईडी साइन इन अवस्थामा छ भने उक्त अकाउन्टमा कुन ईमेल आईडी जोडिएको छ भन्ने कुरा थाहा पाउन सजिलो हुन्छ । यस्तोमा तपाईंको आईफोन वा आईप्याडको सेटिङ एपमा जानुहोस्, त्यसपछि पेजको माथि सिरानीमा रहेको आफ्नो नाममा ट्याप गर्नुहोस् ।

म्याकका लागि सुरुमा सिस्टम सेटिङ (यदि पुरानो सिस्टम हो भने सिस्टम प्रिफ्रेन्सेस) खोल्नुहोस् त्यसपछि आफ्नो नाम अथवा एप्पल आईडीमा क्लिक गर्नुहोस् । अब यहाँनिर तपाईंले आफ्नो एप्पल अकाउन्टको थप विवरण देख्न सक्नु हुनेछ, जसमा तपाईंले एप्पल आईडी लगइन गर्दा कुन ईमेल एड्रेस प्रयोग गर्नु हुन्छ भन्ने जानकारी समेत रहेको हुन्छ ।

यदि तपाईं विन्डोज कम्प्युटर प्रयोग गर्नु हुन्छ भने आईट्युन अथवा विन्डोजका लागि आईक्लाउड खोल्नुहोस्, त्यसपछि आफ्नो एप्पल आईडी पत्ता लगाउन अकाउन्ट सेक्सनमा जानुहोस् । आफ्नो एप्पल आईडीसँग संलग्न ईमेल एड्रेस थाहा पाउनु भनेको तपाईंको आधा समस्या समाधान हुनु सरह हो ।

तर बाँकी आधा भाग चाहिं तपाईंको पासवर्ड जत्तिकै महत्त्वपूर्ण हुन्छ । यदि तपाईंलाई आफ्नो पासवर्ड थाहा छैन भने आफ्नो एप्पल आईडी लगइन गर्न सक्नु हुन्न, त्यस्तोमा तपाईं बीचैमा अड्किएको महसुस हुन सक्छ ।

तर चिन्ता नलिनुहोस्, यदि तपाईंलाई आफ्नो ईमेल एड्रेस थाहा छ भने यो पासवर्ड रिसेट गरे जत्तिकै सजिलो छ । त्यसका लागि तपाईंले आफ्नो ट्रस्टेड डिभाइसमा रहेको एप्पल आईडी पेजबाट साइन-इन एण्ड सेक्युरिटी हुँदै पासवर्ड अथवा एप्पल सपोर्ट साइटमा जानु पर्ने हुन्छ ।

साइनइन छैन भने कसरी फेला पार्ने एप्पल आईडी ?

यदि तपाईंले आफ्नो एप्पल आईडी लगइन गरिरहेको अवस्था छैन भने अवस्था केही जटिल बन्न जान्छ । तर त्यसो भन्दैमा निराश भने हुनु पर्दैन ।

यस्तोमा एप्पलको आईफर्गट वेबसाइटमा गएर (उक्त वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्) आफ्नो एप्पल आईडी खोज्ने प्रयास गर्न सक्नु हुन्छ । त्यसले तपाईंको ईमेल आईडी अथवा फोन नम्बर माग्नेछ, यदि त्यो कुनै एप्पल आईडीसँग मेल खाएमा साइटले तपाईंलाई केही सेक्युरिटी कोइसन सोध्नेछ ।

अर्को विकल्प भनेको तपाईंले साधारणतया प्रयोग गर्ने अन्य ईमेल एड्रेस राखेर विचार गर्न सक्नु हुन्छ । यसो गर्दा तपाईंले प्रयोग गर्ने विभिन्न ईमेल एड्रेस मध्ये कुनै एउटा चाहिं एप्पल आईडीमा प्रयोग भएको हुन सक्छ ।

ईमेल एड्रेसको कुरा गरिरहँदा, एप्पलबाट कुनै ईमेल आएका छन् कि इनबक्स चेक गर्नुहोस् । जुन साधारणतया [email protected] बाट पठाइएका हुन्छन् । यो अवस्थामा जुन आईडीमा एप्पलको ईमेल आएको छ, सोही ईमेल तपाईंको एप्पल आईडीमा समावेश भएको हुन सक्छ ।

यी सबै प्रयास असफल भएको खण्डमा यहाँ क्लिक गरी एप्पल सपोर्टमा सम्पर्क राख्नुहोस्, जसले तपाईंलाई आफ्नो एप्पल आईडी पुनः प्राप्त गर्न अतिरीक्त स्रोत तथा सहायता उपलब्ध गराउन सक्छ ।

तपाईंले माथिका कुनै पनि विकल्प अपनाइरहँदा के कुरामा सुनिश्चित गर्नुहोस् भने त्यो एप्पलको आधिकारिक माध्यम होस् । स्क्यामर अर्थात् साइबर अपराधीहरूले तपाईंको एप्पल आईडीको सूचना तथा जानकारीहरू हात पार्न खोजिरहेका हुन्छन् ।

त्यसका लागि उनीहरूले एप्पलको जस्तै देखिने नक्कली वेबसाइटहरू बनाएका हुन सक्छन् । यो समाचार सामग्रीमा राखिएका लिङ्कहरू भने प्रमाणीकरण गरिएका हुन् र ती सुरक्षित समेत छन् । जसलाई प्रयोग गर्दा तपाईंले कुनै चिन्ता लिनु पर्दैन ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २०, २०८० ११:३३