close

भाइरल फोटोबारे प्रम पत्नी- ‘मेरो चरित्रहत्या गर्न खोजियो, त्यो ब्याग सुरक्षाकर्मीकै हो’

टेकपाना टेकपाना

असार १०, २०८३ २२:३६

भाइरल फोटोबारे प्रम पत्नी- ‘मेरो चरित्रहत्या गर्न खोजियो, त्यो ब्याग सुरक्षाकर्मीकै हो’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)की पत्नी सविना काफ्लेले सामाजिक सञ्जालमा भाइरल भइरहेको तस्बिरलाई लिएर भइरहेको आलोचनाप्रति आपत्ति जनाएकी छन् । बुधबार फेसबुकमा स्टाटस लेख्दै आफूमाथि नियोजित चरित्र हत्याको प्रयास भएको गुनासो गरेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी भई चितवनबाट काठमाडौँ फर्किने क्रममा विमानस्थलमा खिचिएको एक तस्बिरमा सुरक्षाकर्मीले झोला बोकेको देखिएपछि सामाजिक सञ्जालमा काफ्लेको आलोचना सुरु भएको थियो । आलोचकहरूले प्रधानमन्त्री पत्नीले आफ्नो झोला सुरक्षाकर्मीलाई बोकाएको भन्दै प्रश्न उठाएका छन् ।

सोही विषयमा मौनता तोड्दै काफ्लेले उक्त झोला आफ्नो नभई सुरक्षाकर्मीकै भएको दाबी गरेकी छन् । उनले लेखेकी छन्, "...जुन सुरक्षाकर्मीले त्यो ब्याग बोकेको छ, त्यो ब्याग उहाँको आफ्नै निजी हो । तर यहाँ अनेक शंका र अनेक अड्कलबाजीले मेरो चरित्रहत्या गर्न खोजिएको छ ।"

उनले समाचार सम्प्रेषण गर्नुअघि सत्यता बुझ्न सञ्चारमाध्यमहरूलाई आग्रह गर्दै भ्रामक सूचनाप्रति दुख व्यक्त गरेकी छन् । "महिलाको चरित्रहत्या गरेर चर्चामा आएको मिडियाबाट यो समाचारको सुरुवात गरिएको देखेपछि यो नियोजित छ भन्ने मैले बुझेँ " उनले जनआस्था अनलाइनलाई इंगित गर्दै लेखेकी छन् ।

बुधबार दिउँसो जनआस्थाले 'सुरक्षाकर्मीको हातमा प्रधानमन्त्री पत्नीको झोला' शीर्षकमा समाचार प्रकाशित गरेको थियो । साथै सामाजिक सञ्जालमा समेत यस फोटोलाई लिएर सामग्री बनेका छन् । केहीले एआई सिर्जित फोटो राख्दै भ्रम फैलाएका छन् । 

विगत केही समयदेखि आफूलाई पूर्ववर्ती प्रधानमन्त्रीका पत्नीहरूसँग तुलना गरेर नकारात्मक टिप्पणी गर्ने गरिएको भन्दै काफ्लेले नयाँ नेतृत्वलाई हेर्ने दृष्टिकोण अझै पुरानै रहेको गुनासो गरिन्। उनले भनिन्, "नयाँहरू आए तर नयाँलाई हेर्ने पुरानो दृष्टिकोण चाहिँ अझै उस्तै छ। गैरजिम्मेवार ढंगले यसरी समाचार बनाएर कसैको मानहानि गर्नु गैरकानुनी हो, जुन सुधारिन जरुरी छ ।"

काफ्लेले सार्वजनिक व्यक्तित्व भएका कारण प्रेस काउन्सिल वा कानुनी प्रक्रियामा जान सकिने भए पनि आफू अहिले एउटा आम नागरिकको हैसियतले मात्र प्रस्तुत भएको बताएकी छन् ।

आफ्नो समय र प्रतिष्ठा यस्ता सानोतिनो अल्झनमा अल्झिने खालको नभएको जिकिर गर्दै उनले थपिन्, "यो एकदमै सानो कुरा हो । र यस्तो सानोतिनो अल्झनमा अल्झिने मेरो समय र प्रतिष्ठा पनि होइन । बस् यति हो कि यो सानो कुराले निम्त्याउने मानहानिका मुद्दाहरू हामी सबैले बुझ्न जरुरी छ जस्तो लाग्छ ।"

उनले समाचार लेखनमा संलग्न पत्रकारहरूलाई जिम्मेवार बन्न र प्रवृत्ति सुधार गर्न समेत सचेत गराएकी छन् ।

रास्वपाको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन परिवारसहित चितवन पुगेका थिए । तस्बिरमा बालेनले छोरी बोकेका छन् भने काफ्लेको हातमा मोबाइल मात्र देखिएपछि सुरक्षाकर्मीले बोकेको झोलालाई लिएर विवाद सिर्जना भएको हो ।

पछिल्लो अध्यावधिक: असार १०, २०८३ २२:५७