close

तरकारीको बाकस ठानेर झुक्किंदा रोबोटले गर्‍यो एक जनाको हत्या

टेकपाना टेकपाना

कात्तिक २४, २०८० ११:३

तरकारीको बाकस ठानेर झुक्किंदा रोबोटले गर्‍यो एक जनाको हत्या

काठमाडौं । दक्षिण कोरियामा रोबोटले एक जना व्यक्तिको हत्या गरेको छ । खाने कुराका बाकस सम्बन्धी काम गर्ने रोबोटले ती व्यक्तिलाई छुट्याउन नसकेर हिर्काउँदा मृत्यु हुन पुगेको रिपोर्टमा उल्लेख छ ।

एक रोबोटिक कम्पनीका ४० वर्षीय कर्मचारीले रोबोट परीक्षण गर्ने क्रममा उक्त घटना घट्न पुगेको हो । रोबोटिक अङ्गले झुक्किएर ती व्यक्तिलाई तरकारीका बाकस ठानेपछि समातेर कन्भेयर बेल्टमाथि धकेलेको र उनको अनुहार र छाती ठोक्किन पुगेको दक्षिण कोरियाली समाचार संस्था योन्ह्यापले जनाएको छ ।

घटना लगत्तै अस्पताल लगिए पनि केही बेरपछि उनको मृत्यु भएको थियो । योन्ह्यापका अनुसार उक्त रोबोट खुर्सानीका बाकसहरूलाई उठाउने र प्यालेटमाथि राख्ने काममा लगाइएको थियो ।

ती व्यक्ति ८ नोभेम्बरका दिन कोरियाको ग्योङ्गसाङ्ग प्रान्त स्थित खुर्सानी केलाउने प्लान्टमा रोबोटको सञ्चालन परीक्षण अघि रोबोटको सेन्सर चेकजाँच गरिरहेका थिए । उक्त परीक्षण ६ नोभेम्बरका लागि तय भए पनि रोबोटको सेन्सरमा खराबी देखिएपछि दुई दिन पछाडि धकेलिएको थियो ।

रोबोटिक अङ्ग बनाउने कम्पनीमा कामदारको रूपमा रहेका ती व्यक्ति मसिनमा खराबी देखिएपछि बुधवार राति त्यसको चेकजाँच गरिरहेका थिए । दुर्घटना पश्चात् दोङ्गसियोङ्ग एक्सपोर्ट एग्रिकल्चरल कम्प्लेक्सका एक अधिकारी तथा उक्त प्लान्टका मालिकले सटीक तथा सुरक्षित प्रणाली स्थापना गरिने बताएका छन् ।

गत मार्चमा अटोमोबाइल पार्ट्स म्यानुफ्याक्चरिङ प्लान्टमा काम गर्ने क्रममा एक ५० वर्षीय व्यक्ति रोबोटका कारण गम्भीर घाइते बनेका थिए ।

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०८० ११:३