close

अचानक फेरियो गुगल म्याप्सको रङ्ग, प्रयोगकर्ता भने निराश

टेकपाना टेकपाना

मंसिर ४, २०८० १२:४३

अचानक फेरियो गुगल म्याप्सको रङ्ग, प्रयोगकर्ता भने निराश

काठमाडौं । गुगलले आफ्नो गुगल म्याप्सको रङ्ग परिवर्तन गर्न थालेको छ । तर प्रयोगकर्ता भने परिवर्तित नयाँ रङ्ग देखेर निराश देखिएका छन् ।

परिवर्तन त्यति धेरै आमूल किसिमको नभए पनि गुगल म्याप्सको नयाँ रङ्गले प्रयोगकर्तालाई आश्चर्यमा पार्नुका साथै अस्तव्यस्त महसुस गराएको छ । यतिखेर रेडिट र ट्वीटर गुगलको नयाँ रङ्ग छनोट विरुद्धका तर्कले भरिएको छ ।

एक समय सेता रहेका सडकहरू यतिखेर खैरो रङ्गमा परिणत भएका छन् । निलो रङ्गमा देखिने पानीको भाग अहिले उल्लेखनीय रूपमा फिक्का देखिन थालेको छ । जब कि जङ्गल क्षेत्र भने पहिले भन्दा गाढा हरियो छायाँले भरिएको छ ।

रुट इन्डिकेटर पनि बढी चहकिलो हुनुका साथै ठूलो निलो कलरमा देखिएको छ । वर्षौंदेखि गुगल म्याप्स प्रयोग गरिरहेका प्रयोगकर्ताहरूलाई यस किसिमको परिवर्तन झन्झटिलो लाग्न सक्छ । 

"मैले एक हप्ता अघिबाट देखिरहेको यो परिवर्तन मन परेको छैन । मलाई हेर्न र बुझ्न सजिलो लागेको छैन । यदि सकिने भए म पुरानै रङ्गतर्फ फर्किने थिएँ," एक रेडिट प्रयोगकर्ताले लेखेका छन् । 

"क्लासिक गुगल पूर्णतया राम्रो थियो । तर अहिले बिना कारण परिवर्तन गरी खराब बनाइएको छ,"  अर्का प्रयोगकर्ताले भनेका छन् ।  

यदि राम्रोसँग जुम गरिएको छैन भने यति खेर गुगल म्याप्समा प्रयोगकर्तालाई सडक देख्न कठिन भएको छ । प्रयोगकर्ताको सबैभन्दा ठूलो गुनासो के छ भने नयाँ रङ्गले म्यापमा भएका विस्तृत विवरण हेर्न मुस्किल बनाएको छ किन कि पुरानो स्पष्ट देखिने भागहरू पखालिए जस्तो देखिएका छन् ।

गुगल म्याप्सको रङ्ग गुगलले किन अचानक परिवर्तन गर्ने निर्णय लियो भन्ने कुरा अहिलेसम्म स्पष्ट भइसकेको छैन । तर रिसाएका तथा असन्तुष्ट प्रयोगकर्ताले कम्पनीलाई पुरानै रङ्गमा फर्किने कुरामा मनाउन सक्ने सम्भावना पनि कायमै छ । 

 

पछिल्लो अध्यावधिक: मंसिर ४, २०८० १२:४४