काठमाडौं । 'ब्रेकिङ ट्वीटर' का लेखक बेन मेजरिचले ट्वीटर (हालको एक्स) मा हुँदा एलन मस्क बौलाहा जस्तै भएको बताएका छन् । ट्वीटरलाई एक्स नबनाउँदासम्म प्रमुख कार्यकारी (सीईओ) को भूमिकामा रहेका मस्क सम्भावित विद्रोहलाई नियन्त्रण गर्न अव्यवहारिक गतिविधि गर्न पुगेको लेखक मेजरिचले खुलाएका छन् ।
लेखक मेजरिचका अनुसार बिजनेस इन्साइडरको एक अन्तर्वार्तामा मस्कले आफू विरुद्ध कर्मचारीले विद्रोह गर्न सक्ने डरले दुई भन्दा बढी ट्वीटर कर्मचारीहरूलाई एकसाथ बस्न दिएका थिएनन् । “मस्क नियन्त्रण बाहिर गएका धेरै उदाहरण छन् । उनी एक विन्दुमा यस्तोसम्म भए कि ट्वीटरमा दुई भन्दा बढी कर्मचारीलाई कुराकानी गर्नै प्रतिबन्ध लगाइदिए । किनभने कर्मचारीहरूले विद्रोह गर्छन् भनेर उनी डराएका थिए ।”
कर्मचारीहरूले ट्वीटरको वेबसाइटलाई बिगार्ने र कम्पनीबाट उनलाई निकाल्न सक्ने डरका कारण मस्क यस्तो अवस्थामा पुगेको उल्लेख छ । सोही कारण त्यो कुरालाई नियन्त्रण गर्न मस्कले षड्यन्त्रका रूपमा त्यसो गरेको उनको विश्लेषण छ ।
मेजरिचका अनुसार मस्कको त्यस्तो गतिविधिका कारण कतिपय कर्मचारीले सामूहिक रूपमा ट्वीटर छाड्ने योजना समेत बनाएका थिए । मस्कको त्यो गतिविधिलाई भने मेजरिचले अर्बपतिको मानसिक स्वास्थ्यमा परेको गम्भीर असरको प्रभावको संज्ञा दिएका थिए ।
मस्कको यस्तो कदम बारे गत जनवरीमा द भर्जले समेत उल्लेख गरेको थियो । उक्त लेखमा ट्वीटरका कर्मचारी अमिर शेवटले कम्पनीभित्र दुई जना भन्दा बढी कर्मचारीले कुरा गर्ने कार्य जागिरबाट निष्कासनमा पर्ने जोखिम मोल्नु भएको बताएका थिए ।
तर मेजरिचको यो कुराबारे भने मस्क निकट व्यक्तिले कुनै टिप्पणी नगरेको बिजनेस इन्साइडरले लेखेको छ । मेजरिचको पुस्तक 'ब्रेकिङ ट्वीटर' मा गत वर्ष मस्कले प्लेटफर्ममा गरेको अराजक व्यवहारबारे खुलासा गरिएको छ ।