काठमाडौं । दशरथ रङ्गशालामा जारी नेपाल र यमन बीचको फुटबल खेलको प्रत्यक्ष प्रसारण गर्न नेपाल टेलिभिजन र मिडिया हब असफल साबित भएका छन् । सुरुवाति २५ मिनेटको खेल सकिन लाग्दा समेत लाइभ देखाउने जिम्मा पाएका नेपाल टेलिभिजनको एनटीभी प्लस र मिडिया हब लाइभ देखाउन सकिरहेका थिएनन् ।
फिफा विश्वकप २०२६ एसिया क्वालिफायर्सको खेलमा नेपाल र यमन बीचको खेल चलिरहेको छ । तर दर्शकहरूले भने आफ्नो देशमै भइरहेको खेलको प्रसारण हेर्न नपाएपछि खिन्नता प्रकट गर्न थालेका छन् ।
मिडिया हबले युट्युब च्यानलमा र एनटीभी प्लसले टेलिभिजनमा उक्त खेलको प्रत्यक्ष प्रसारणको जिम्मा लिएका छन् । मिडिया हबका सञ्चालक सोम धितालले रङ्गशालामा इन्टरनेटको समस्या हुँदा लाइभ प्रसारण गर्न ढिलाई भएको बताए ।
यद्यपि खेल २६ मिनेटपछि भने एनटीभी प्लस र मिडिया हब स्पोर्ट्समा लाइभ देखिन थालेको छ ।