close

ह्वाट्सएपमा ईमेल आईडीमार्फत कसरी लगइन गर्ने ?

टेकपाना टेकपाना

मंसिर १०, २०८० ११:५४

ह्वाट्सएपमा ईमेल आईडीमार्फत कसरी लगइन गर्ने ?

काठमाडौं । ह्वाट्सएप विश्वभरका अरबौं मानिसहरूका लागि परिचित छ । चर्चित मेसेजिङ एप भएकाले मेटाको स्वामित्वमा रहेको ह्वाट्सएपले समय-समयमा आकर्षक फिचरहरू ल्याइरहन्छ । त्यसमध्ये हालै ह्वाट्सएपले ईमेलबाटै अकाउन्ट अथेन्टिकेसन अर्थात् खाता प्रमाणीकरण गर्न सकिने सुविधा ल्याएको छ ।

यसअघि ह्वाट्सएपमा लगइनका लागि एसएमएसमात्रै विकल्पका रूपमा थियो । हामीले आफ्नो नम्बरमा आएको एसएमएस कोड प्रयोग गरेपछि ह्वाट्सएप लगइन गर्न सकिन्थ्यो । तर, सबै प्रयोगकर्तासँग सधैं एसएमएसको पहुँच हुन्छ भन्ने हुँदैन ।

प्रयोगकर्ता इन्टरनेटको पहुँचमा त हुन्छ, तर एसएमएस कोड साथमा हुँदा ह्वाट्सएपमा साइनअप गर्न सक्दैन । यस्तो समस्याको समाधानका रूपमा ह्वाट्सएपले ईमेल भेरिफिकेसन सेवा ल्याएको हाे ।

कम्पनीका अनुसार प्रयाेगकर्ताले आफ्नो ह्वाट्सएप अकाउन्टमा ईमेल राखिसकेपछि सिम नभए पनि अकाउन्ट लगइन गर्न सक्नेछन् । यसो त ईमेल नै ह्याक भयो भने ह्वाट्सएपको सबै पहुँच अर्को पक्षले प्रयोग गर्ने जोखिम हुन्छ । 

यो फिचरले पूर्ण रूपमा एसएमएस पद्धतिलाई विस्थापित गर्छ भन्ने होइन । सबैभन्दा पहिले अकाउन्ट बनाउन फोन नम्बर प्रयोग गरेर एसएमएसबाटै भेरिफाई गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र ईमेल लिङ्क गर्न सकिन्छ ।

वाबेटाइन्फोका अनुसार आईओएसको ह्वाट्सएपका लागि पछिल्लो अपडेटमा ईमेल भेरिफिकेसन सेवा उपलब्ध भइसकेको छ ।

सुरुवाती समयमा यो फिचर सबै क्षेत्रमा उपलब्ध भइसकेको छैन । यदि उपलब्ध भएको खण्डमा तपाईंले तल उल्लेख गरेका प्रक्रिया अपनाएर ह्वाट्सएपमा ईमेल एड्रेस लिङ्क गर्न सक्नुहुन्छ:

ह्वाट्सएपमा ईमेल एड्रेस कसरी भेरिफाई गर्ने ?

सबैभन्दा पहिले तपाईंको डिभाइसमा ह्वाट्सएपको पछिल्लो अपडेट इन्स्टल भएको हुनुपर्छ । सो अपडेट तपाईंको क्षेत्रमा उपलब्ध छैन भने तत्काललाई तपाईं ह्वाट्सएपलाई ईमेल एड्रेसमार्फत भेरिफाई गर्न सक्नुहुन्न । यदि अपडेट उपलब्ध छ भने तलका तरिका अपनाउनुहोस्:

‍-सबैभन्दा पहिले ह्वाट्सएप खोल्नुहोस् । 

-त्यसपछि माथि दायाँपट्टि देखिएको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।

- अनि सेटिङमा जानुहोस् । 

- यति गरेपछि त्यहाँ देखिएको अकाउन्टको अप्सनमा जानुहोस् । 

- अकाउन्ट सेक्सनमा नै तपाईंले ईमेल एड्रेसको अप्सन देख्न सक्नुहुन्छ । 

- त्यसपछि सो अप्सनमा ट्याप गरेर आफ्नो ईमेल एड्रेस राख्नुहोस् । 

- अनि 'नेक्स्ट' बटन ट्याप गर्नुहोस् । यति गर्नुभयो भने ह्वाट्सएपले तपाईंको ईमेलमा छ डिजिटको कोड पठाउँछ । तपाईंले उक्त कोड कपी गरेर ह्वाट्सएपमा पेस्ट गर्नुहोस् । अनि 'भेरिफाई' बटनमा ट्याप गर्नुहाेस् । 

यति गर्नुभयो भने तपाईंको ह्वाट्सएप ईमेल एड्रेसमार्फत भेरिफाई हुन्छ । अर्को पटक नयाँ वा सोही डिभाइसमा अकाउन्ट साइनअप गर्दा तपाईंले एसएमएस कोडबाट भेरिफाई गर्ने वा ईमेलबाट भेरिफाई गर्ने भन्ने अप्सन छान्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर १०, २०८० १२:१३