close

एनसेलका कर्मचारी भन्छन्- ‘शेयर खरिद-बिक्रीलाई लिएर कम्पनीको बदनाम गर्न खोजियो’

टेकपाना टेकपाना

मंसिर २३, २०८० १७:४२

एनसेलका कर्मचारी भन्छन्- ‘शेयर खरिद-बिक्रीलाई लिएर कम्पनीको  बदनाम गर्न खोजियो’

काठमाडौं । एनसेल आजियाटा लिमिटेडमा करिब ८० प्रतिशत स्वामित्व रहेको रेनोल्ड्स होल्डिङ्ग्सको शेयर खरिद बिक्री प्रक्रिया सम्बन्धी विषयमा एनसेल कर्मचारी ट्रेड युनियन (एनईटीयू) ले कम्पनीकाे बदनाम गर्न खाेजिएकाे भन्दै एक विज्ञप्ति जारी गरेकाे छ ।

केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भएका अनर्गल प्रचारबाजीप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै एनईटीयूले एनसेलकाे बदनाम गर्न खाेजिनु खेदपूर्ण रहेकाे ठहर गरेकाे छ ।

“देशकै सामाजिक, आर्थिक तथा सञ्चारको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउँदै आएको कम्पनीलाई कहिल्यै कर नतिर्ने जस्तो भाष्य सिर्जना हुनेगरी बदनाम गर्न खोजिनु खेदपूर्ण छ,” ट्रेड युनियनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सस्तो लोकप्रियताको लागि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत कम्पनीको छवि नै धुमिल्याउने गरी उछितो काड्नु निन्दनीय छ ।”

एनसेल एक बहुराष्ट्रिय कम्पनी भएको हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास बमोजिम कारोबार हुनु स्वाभाविक भएको कर्मचारी संगठनकाे तर्क छ । “नेपाल विश्व व्यापार सङ्गठनको सदस्य राष्ट्र समेत भएको हुँदा नेपालमा स्थापित बहुराष्ट्रिय कम्पनीका हकमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधि विधान आकर्षित हुन्छन् र सोको पूर्ण रूपमा परिपालना हुनुपर्छ भन्नेमा यो ट्रेड युनियन स्पष्ट छ,” विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै शेयर खरिद बिक्री प्रक्रियाले कम्पनीको दैनिक कार्यसम्पादन तथा सेवा सञ्चालनमा असर नपारेको पनि संगठनले जनाएको छ । बरु कम्पनीमा स्पेक्ट्रलाइट यूके लिमिटेडमार्फत नेपाली मूलका लगानीकर्ता भित्रिएसँगै नयाँ जोश र जागरका साथ अगाडि बढ्ने र नयाँ लगानीकर्ता स्पेक्ट्रलाइट यूकेलाई स्वागत गर्ने कर्मचारी संगठनले उल्लेख गरेकाे छ । 

एनसेलले हालसम्म नेपाल सरकारलाई दुई खर्ब ८३ अर्बभन्दा बढी कर तथा शुल्कहरू भुक्तानी गरेको, संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै कानून बमोजिम निर्धारित क्षेत्रहरूमा उल्लेखनीय योगदान गरेको र देशका एक करोड साठी लाखभन्दा धेरै जनतालाई दूरसञ्चार सेवा दिएको तथा प्रत्यक्ष-अप्रत्यक्ष गरि २५ हजार बढीलाई रोजगारी सिर्जना गरेको एनईटीयूले आफ्नो विज्ञप्तिमा लेखेकाे छ ।

पछिल्लो अध्यावधिक: मंसिर २३, २०८० १७:४२