close

‘इजरायली’ ह्याकरको साइबर आक्रमणपछि इरानका अधिकांश पेट्रोल पम्पको सेवा प्रभावित

टेकपाना टेकपाना

पुस २, २०८० १७:४९

‘इजरायली’ ह्याकरको साइबर आक्रमणपछि इरानका अधिकांश पेट्रोल पम्पको सेवा प्रभावित

काठमाडौं । एक ह्याकरको समूहले इरानमा साइबर हमला गर्दा त्यस देशभरका अधिकांश पेट्रोल पम्पको सेवा अवरुद्ध भएको छ । इरानियन स्टेट टिभी र स्थानीय सञ्चार माध्यका अनुसार सोमवार इरानले इजरायलसँग सम्बन्ध रहेको आरोप लगाएको ह्याकर समूहले साइबर हमला गरेको हो ।

आयल मिनिस्टर जावेद ओजीले इरानियन स्टेट टिभीसँग कुरा गर्दै सो साइबर हमलाका कारण देशभरका ७० प्रतिशत पेट्रोल पम्पको सेवा प्रभावित भएको बताएका छन् । यो साइबर हमला 'प्रिडेटरी स्प्यारो ग्रुप'नामको ह्याकिङ समूहले गरेको त्यहाँका प्रमुख तथा स्थानीय सञ्चार माध्यमले दाबी गरेका छन् । 

देशको साइबर सुरक्षाका लागि जिम्मेवार निकाय सिभिल डिफेन्स एजेन्सी (नागरिक रक्षा संस्था) ले उक्त समूहले साइबर हमला किन गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको छ । "हामी यो घटना निम्तिनु पछाडिका सबै सम्भावित कारणहरूको बारेमा विस्तृतमा अध्ययन गरिरहेका छौं," उक्त निकायले भनेको छ । 

इरानी सञ्चार माध्यमका अनुसार सोही ह्याकरको समूहले त्यसअघि पनि इरानका पेट्रोल पम्प, रेल नेटवर्क र स्टिल उद्योगमा साइबर हमला गरेको थियो ।

साइबर हमलाका कारण इरानमा सन् २०२१ पछि पहिलो पटक पेट्रोलियम पदार्थको अभाव सिर्जना भएको छ । यसले गर्दा पेट्रोलको बिक्री प्रभावित भएको छ भने स्थानीहरू पेट्रोलका लागि लामो लाम लाग्नुपर्ने अवस्था उत्पन्न भएको छ । 

त्यति मात्र नभइ पेट्रोलको मूल्य पनि आकासिएको छ । इरानले भने यो साइबर आक्रमणका पछाडि इजरायल र अमेरिका रहेको आरोप लगाएको रोयटर्सले उल्लेख गरेको छ ।

पेट्रोल स्टेसनको सेवा सोमवार बिहान इरानको राजधानी तेहरानबाट प्रभावित हुन सुरु भएको थियो । जसले गर्दा पेट्रोल स्टेसनले सबै काम म्यानुअल्ली गर्नुपर्ने अवस्था आयो । म्यानुअल्ली काम गर्दा चाप बढेकाले ग्राहकहरू लामो लाम लाग्न बाध्य भएको इरानी सञ्चार माध्यमले जनाएका छन् ।

फार्स न्युज एजेन्सीसँग कुरा गर्दै इरानको पेट्रोल स्टेसन एसोसियसनका प्रवक्ता रेजा नावर (Reza Navar)ले साइबर आक्रमणका कारण सफ्टवेयरमा समस्या आएको र त्यसैले सेवा प्रभावित गरेको बताएका छन् । फ्युल सिस्टममा भएको सफ्टवेयर समस्या पहिचान भइसकेको र त्यसको समाधानका लागि विज्ञहरू लागिपरेको उनको भनाइ छ । 

"इन्धन आपूर्तिको अभाव नै भएको भन्ने त होइन तर ड्राइभरहरूलाई पेट्रोल स्टेसन नजान भनेका छौं," उनले भनेका छन् । यो समस्या समाधान हुन छदेखि सात घण्टाको समय लाग्ने बताइएको छ ।

 

पछिल्लो अध्यावधिक: पुस २, २०८० १७:४९