काठमाडौं । सामाजिक सञ्जालमार्फत एकल महिलालाई दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मी जिल्ला सत्यवति गाउँपालिका वडा नं. ७ स्थायी वतन भएका ४४ वर्षीय डिल बहादुर गलामी रहेका छन् ।
मेसेजिङ एपमा साथी बनी कुराकानी हुने क्रममा भएका वार्तालापको स्क्रिन रेकर्ड गरी राखेको तथा उक्त स्क्रिनशट सम्पादन गरी सामाजिक सञ्जालमा अश्लील सन्देशसहित पोष्ट गरी चरित्रहत्या गरेको अभियोगमा उनीमाथि मुद्दा दायर गरिएको थियो ।
गलामीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा गत भदौ २६ गते मुद्दा दर्ता गरी खोजतलास गर्दा फेला नपरी फरार रहेको र गत असोज १९ गते काठमाडौं जिल्ला अदालतमा फाइल पेस भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा पुस २ गते बाँकेबाट पक्राउ परेका उनलाई मंगलबार काठमाडौं जिल्ला अदालतमा अदालती कारबाहीको लागि पेस गरिएको प्रहरीले जनाएको छ ।