close

३ करोड किलोमिटर टाढा अन्तरिक्षबाट नासाले प्राप्त गर्‍यो बिरालोले लेजरसँग खेलिरहेको भिडिओ

टेकपाना टेकपाना

पुस ४, २०८० १५:५५

३ करोड किलोमिटर टाढा अन्तरिक्षबाट नासाले प्राप्त गर्‍यो बिरालोले लेजरसँग खेलिरहेको भिडिओ

काठमाडौं । अमेरिकी  अन्तरिक्ष एजेन्सी नासाले पहिलोपटक ‘डीप स्पेस’बाट पृथ्वीमा पठाइएको भिडिओ प्राप्त गरेकाे छ । आफ्नो आधिकारिक एक्स अकाउन्टमा पोस्ट गर्दै नासाले लेजर कम्युनिकेसन प्रविधि प्रयोग गरेर १५ सेकेन्ड लामो भिडिओ प्राप्त गरेको जानकारी दिएको हो । 

अल्ट्रा एचडी क्वालिटीको उक्त भिडिओमा 'टेटर्स' नामको सुन्तला रङ्गको बिरालोले लेजर पोइन्टरलाई पछ्याएको देखिन्छ । बिरालोको सो भिडिओ भने डीप स्पेस अप्टिकल कम्युनिकेसन एक्सपेरिमेन्ट (डीएसओसी) को एक भागको रूपमा पृथ्वीमा पठाइएको थियो ।

उक्त दूरीबाट पृथ्वीमा प्राप्त भएको यो भिडिओ पृथ्वीमै रेकर्ड गरिएको नासाले जनाएको छ । भिडिओमा रहेको बिरालो भने नासाकै एक कर्मचारीको हो । रेकर्ड गरिएको सो भिडिओ गत अक्टोबरमा नासाको साइक स्पेसक्राफ्टमा अपलोड गरी अन्तरिक्षमा पठाएको थियो । सोही अन्तरिक्ष यानबाट उक्त भिडिओ इन्फ्रारेड लेजरमा इन्कोड गरी पृथ्वीमा पठाइएको थियो । दूरीमा डेटा पठाउँदा/प्राप्त गर्दा प्रयोग गरिने प्रभावकारी तरिका भएको नासाले उल्लेख गरेको छ ।

यो परीक्षण नासाको 'साइकी मिसन' अन्तर्गत गरिएको थियो । यस मिसनको मुख्य उद्देश्य सूर्य र वृहस्पतिको बीचमा रहेको उल्का पिण्डको अध्ययन गर्नु रहेको छ । यो ग्रह भिभिन्न धातुले भरिएको बताइएको छ । त्यसबाहेक यसको प्रयोग डिप स्पेसमा लेजर कम्युनिकेसन टेक्नोलोजीको परीक्षणका लागि पनि गरिएको छ । हाल यो अन्तरिक्षयान पृथ्वीबाट करिब ३१ मिलियन अर्थात् तीन कराेड १० लाख किलोमिटर टाढा रहेको ‘डीप स्पेस’मा रहेको छ ।

उक्त भिडिओलाई इन्फ्रारेड लेजरमा इन्कोड गरिएको थियो । लाखौं किलोमिटरबाट पठाइएको याे भिडिओ क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीको पालोमर अब्जर्भेटरीमा रहेको हेल टेलिस्कोपबाट प्राप्त गरिएको थियो । भिडिओ महत्त्वपूर्ण नभए पनि भिडिओ पठाउने प्रविधि ठूलो सफलता भएको विश्लेषण गरिएको छ ।

नासाका अनुसार यो प्रविधिमार्फत अन्तरिक्षबाट डेटा, इमेजरी तथा भिडिओहरू पाउन/पठाउन प्रयोग गर्न सकिने छ । त्यस्तै मंगल ग्रहमा मानव बस्ती बसाल्ने लगायतका अन्तरिक्ष परियोजनामा आवश्यक पर्ने सञ्चारका लागि यो सफलता महत्त्वपूर्ण हुने विश्लेषण गरिएकाे छ ।

यो भिडिओ डीप स्पेसबाट पृथ्वीसम्म आइपुग्न १०१ सेकेन्ड लागेको बताइएको छ । नासाका अनुसार यो भिडिओ २६७ एमबीपीएस गतिमा पृथ्वीतिर पठाइएको थियो ।

पछिल्लो अध्यावधिक: पुस ४, २०८० १६:१