close

मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क, जुनसुकै कम्पनीले इन्टरनेट विस्तार गर्न सक्ने

टेकपाना टेकपाना

पुस ७, २०८० १५:३८

मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क, जुनसुकै कम्पनीले इन्टरनेट विस्तार गर्न सक्ने

धनकुटा । मध्यपहाडी लोकमार्ग अन्तर्गत कोशी खण्डमा सूचना महामार्ग (अप्टिकल फाइबर नेटवर्क) तयार भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको लगानीमा नेपाल टेलिकमले ६८३ किलोमिटर सडकमा अप्टिकल फाइबर बिछ्याएपछि यो खण्डमा सूचना महामार्ग तयार भएको हो ।

शनिवार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कोशी खण्डअन्तर्गत धनकुटाको हिले एक्सचेन्ज सेन्टरमा उक्त सूचना महामार्गको उद्घाटन गरिन् । यो महामार्गको सहप्रयोगबाट जुनसुकै इन्टरनेट सेवा प्रदायक कम्पनीले पनि इन्टरनेट सेवा विस्तार गर्न पाउनेछन् ।

सो अवसरमा बोल्दै मन्त्री शर्माले यो आयोजना मध्यपहाडी लोकमार्गको सबै खण्डमा विस्तार गरिने जानकारी दिइन् । मध्यपहाडी लोकमार्गलाई लक्षित गरेर निर्माण गरी सञ्चालनमा ल्याइएको यो सूचना महामार्गले मध्यपहाडी राजमार्ग परियोजनालाई पूर्णता दिँदै मध्यपहाडी क्षेत्रका बासिन्दालाई दूरसञ्चारको मूल प्रवाहमा जोड्ने सरकारको विश्वास रहेको उनको भनाइ थियो ।

मन्त्री शर्माले यो वर्षमा मात्रै ताप्लेजुङ, बझाङ, बाजुरा, रुकुमपश्चिम, जुम्ला र कालीकोटमा एफटीटीएच सेवा पुगेकाे र एफटीटीएच पुग्ने कूल जिल्ला संख्या ७३ पुगेकाे जानकारी दिइन् ।

सो कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी, धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललगयतले बोलेका थिए ।

पछिल्लो अध्यावधिक: पुस ७, २०८० १६:१४