close

गणेश नेपालीको मृत्युबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न स्वतन्त्र चालक फाउन्डेसनको माग

टेकपाना टेकपाना

असार २६, २०८३ १६:७

गणेश नेपालीको मृत्युबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न स्वतन्त्र चालक फाउन्डेसनको माग

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका राइड शेयररिङ चालक गणेश नेपालीको घटनाबारे स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन समिति गठन गर्न स्वतन्त्र चालक फाउन्डेसन नेपालले सरकारसँग माग गरेको छ । फाउन्डेसनले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको वास्तविक सत्यतथ्य सार्वजनिक गर्न निष्पक्ष, स्वतन्त्र र पारदर्शी अनुसन्धान आवश्यक रहेको जनाएको हो ।

फाउन्डेसनले सार्वजनिक रूपमा आएका जानकारी र विभिन्न पक्षले गरेका दाबीलाई उद्धृत गर्दै विज्ञप्तिमा भनेको छ, राइड गरिरहेका क्रममा महानगर प्रहरीद्वारा उहाँको मोटरसाइकलमा ह्विल लक लगाइएको तथा त्यसपछिको घटनाक्रममा टेजर प्रयोग भएको भन्दै विभिन्न प्रश्नहरू उठेका छन् । उक्त घटनापछि उहाँले आत्मदाहको प्रयास गर्नुभएको र उपचारको क्रममा उहाँको दुःखद निधन भएको बताइएको छ ।

फाउन्डेसनले अनुसन्धानबाट कुनै व्यक्ति वा निकायको लापरबाही, गैरजिम्मेवारी वा कानुनविपरीतको कार्य पुष्टि भए प्रचलित कानुनअनुसार कडा कारबाही गर्न पनि माग गरेको छ । साथै, चालक समुदाय र सर्वसाधारणलाई संयमता अपनाउन, अपुष्ट सूचना वा अफवाह नफैलाउन तथा कानुनी र शान्तिपूर्ण माध्यमबाट न्यायको माग गर्न संस्थाले आग्रह गरेको छ ।

पार्किङ गरिएको मोटरसाइकलमा नगर प्रहरीले ह्विल लक लगाएपछि विवाद हुँदा मुगुको सोरु गाउँपालिका वडा नं १ का स्थायी घर भई हाल भक्तपुर बस्दै आएका गणेश नेपालीले बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । घटनापछि तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्‍याइएको थियो । तर शुक्रबार बिहान करिब ११ः२० बजे उपचारकै क्रममा उनको निधन भएको हो ।

 

पछिल्लो अध्यावधिक: असार २६, २०८३ १६:११