close

क्रिसमसको अवसरमा आईफोन १५ जित्नुभयो भन्दै मेसेज आयो ? सावधान !

टेकपाना टेकपाना

पुस ८, २०८० १६:४०

क्रिसमसको अवसरमा आईफोन १५ जित्नुभयो भन्दै मेसेज आयो ? सावधान !

काठमाडौं । केही दिनयता मेसेन्जर र ह्वाट्सएपमा क्रिसमसको अवसरमा दराजबाट आईफोन १५ गिफ्ट पाइने भन्दै स्क्याम लिङ्क फैलिएको छ । सोमवार परेको क्रिसमस डेलाई लक्षित गर्दै स्क्यामरले फिशिङ लिङ्कको स्क्याम फैलाएका हुन् ।

प्रयोगकर्तालाई प्राप्त लिङ्कको फिचर फोटोमा दराजको लोगो रहेको छ । सो लिङ्कको टाइटलमा ‘Daraz -Christmas present’ लेखेको छ भने डिस्क्रिप्सनमा ‘दराजको क्रिसमस इभेन्टमा सहभागी भएर गिफ्ट पाउनुहोस्’ लेखिएको छ । त्योभन्दा तल भने उक्त स्क्याम साइटको लिङ्क रहेको छ । 

उक्त लिङ्कमा क्लिक गर्नासाथ ‘Congratulaton!’ लेखिएको देखिन्छ । त्यसको तल ‘Claim Gift’ को बटनमा क्लिक गर्न भनिएको हु्न्छ । उक्त बटनमा ट्याप गरिसकेपछि चार ओटा प्रश्नको उत्तर ‘Yes’ वा ‘No’ मध्य एउटा अप्सन छान्न भनेको हुन्छ । सोही पोस्टको तल भने नक्कली कमेन्ट राखिएको छ । जसमा दराजबाट गिफ्ट पाएको झुटो दाबी गरिएको छ । 

त्यसमा सोधिएको प्रश्न दिने क्रममा उक्त लिङ्कले विभिन्न डेटा चोरी सकेको हुन्छ । 

यति गरिसकेपछि त्यहाँ गिफ्टका बक्सहरू देखिन्छन् । त्यसमध्ये ‘तीन ओटा बक्समा ट्याप गर्नू भनिएको हुन्छ । त्यसमध्ये पहिलो पटक ट्याप गर्दा केही आउँदैन । अनि दोस्रो पटक ट्याप गर्दा आईफोन १५ जित्नुभएको भन्ने स्क्रिन खुल्छ । त्यसमा भनिएको उपहार पाउन पाँच ओटा ग्रुप वा २० जनालाई फरवार्ड गर्ने, ईमेल एड्रेस दिने  र यति गरेपछि उपहार पाँचदेखि सात दिनमा घरसम्म आइपुग्ने उल्लेख गरिएको हुन्छ ।

साइबर सुरक्षा विश्लेषकका अनुसार स्क्यामरले फिशिङ लिङ्कमार्फत प्रयोगकर्ताको डिभाइसबाट संवेदनशील जानकारी चोरी गर्ने र उनीहरूमार्फत नै अन्य व्यक्तिमा लिङ्क पठाउनका लागि यस्तो लिङ्क तयार पारेको हो ।

दराजलाई लक्षित यो लिङ्कले प्रयोगकर्ताको के-कस्ता जानकारी चोरी गर्छ भन्ने खुलिसकेको छैन । यद्यपि यो पूर्ण रूपमा स्क्याम लिङ्क भएको र त्यसमा क्लिक गर्दा प्रयोगकर्ताको डेटा चोरी हुने भन्दै साइबर सुरक्षा विश्लेषकले यस्ता लिङ्क बेवास्ता गर्न सुझाव दिएका छन् ।

पछिल्लो अध्यावधिक: पुस ८, २०८० १६:४०