फोटोशप र इलुस्ट्रेटरको दबदबा सकिएकै हो ? एआई र नयाँ प्रतिस्पर्धीले ढाल्दैछन् एडोबीको साम्राज्य
असार २५, २०८३ १३:४०
काठमाडौं । एउटा समय यस्तो पनि थियो, जब एडोबीको प्रयोग गर्नु रहर नभएर बाध्यता हुन्थ्यो । यदि तपाईंले फोटो एडिट गर्नु पर्यो भने फोटोशप नै प्रयोग गर्नु पर्थ्यो । यदि तपाईं भेक्टर ग्राफिक्समा काम गर्नुहुन्थ्यो भने इलुस्ट्रेटर चलाउनु हुन्थ्यो । यदि तपाईं लेआउटको काम गर्नु हुन्थ्यो भने इन्डिजाइनको विकल्प थिएन ।
यदि तपाईं सम्वेदनशील प्रकृतिका कागजातहरूमा काम गर्नु हुन्थ्यो भने एक्रोब्याट नै प्रयोग गर्नु हुन्थ्यो । तपाईंलाई एडोबी मन नपरे पनि, तपाईंले यसको पाइरेटेड संस्करण चलाए पनि, वा क्लाइन्टले पठाएको फाइल अन्य कुनै ठाउँमा राम्रोसँग नखुल्ने भएकाले बाध्य भएर एडोबी खोले पनि एडोबी नै मुख्य विकल्प थियो ।
त्यो युग अब समाप्त हुँदैछ । एडोबी अचानक टाट पल्टेर, असान्दर्भिक भएर वा सफ्टवेयर निर्माणमा कमजोर भएर यस्तो भएको होइन । एडोबी अझै पनि विशाल छ । यसको आम्दानी पहिलेभन्दा धेरै छ । यसको नाफाको मार्जिन अझै पनि त्यस्तो छ, जुन धेरै सफ्टवेयर कम्पनीहरूले केवल सपनामा मात्र देख्न सक्छन् । तर, सिर्जनात्मक कामको अपरिहार्य केन्द्र एडोबी नै हो भन्ने पुरानो मान्यता भने अब सत्य जस्तो लाग्न छाडेको छ ।
सफ्टवेयर उद्योगकै सबैभन्दा टिकाउ मध्येको एउटा एकाधिकारमाथि बजारले अचानक किन विश्वास गुमायो भन्ने बुझ्नका लागि हामीले एडोबीलाई र यसको शुद्ध इन्जिनियरिङ आविष्कार तथा कठोर कर्पोरेट प्रभुत्वबिचको द्वन्द्वलाई बुझ्न आवश्यक छ ।
एडोबीको साम्राज्य
क्यालिफोर्नियाको लोस अल्टोसमा रहेको जोन वार्नकको घरपछाडि बग्ने खोलाको नाम 'एडोबी क्रिक' थियो । सन् १९८२ को डिसेम्बरमा जब वार्नक र चार्ल्स गेश्केले सफ्टवेयर कम्पनी सुरु गर्न जेरक्स पार्कको आफ्नो जागिर छाडे, तब उनीहरूले आफ्नो कम्पनीको नाम त्यही खोलाको नामबाट राखे । आधुनिक संसारको भिजुअल संस्कृतिलाई नयाँ स्वरूप दिने कम्पनीका लागि यो एउटा सामान्य नाम थियो ।
उनीहरूको सबैभन्दा ठुलो सफलता पोस्टस्क्रिप्ट थियो । प्रिन्टरलाई कुन बिन्दुमा मसीको थोप्लो राख्ने भनी निर्देशन दिनुको सट्टा, पोस्टस्क्रिप्टले पृष्ठलाई गणितीय रूपमा व्याख्या गर्दथ्यो । यसले अक्षर र आकारहरूलाई निश्चित पिक्सेल ग्रिडको रूपमा नभई भेक्टर गणितीय सूत्रहरू (लाइन, आर्क र बेजियर कर्भ) को रूपमा व्यवहार गर्थ्यो । यसको अर्थ कुनै पनि डकुमेन्टलाई कम रिजोलुसन भएको कम्प्युटर मनिटर वा उच्च गुणस्तरको व्यावसायिक टाइपसेटिङ मसिन, जहाँ राख्दा गर्दा पनि यसको आकार असीमित रूपमा बढाउन सकिन्थ्यो ।
स्टिभ जब्स (त्यस समयमा एप्पलको नेतृत्व गरिरहेका युवा परिकल्पनाकार) ले यसको अर्थ तुरुन्तै बुझेका थिए । सन् १९८३ मा उनले एडोबीलाई सोझै ५० लाख डलरमा किन्न खोजे । वार्नक र गेश्केले अस्वीकार गरेपछि जब्स १९ प्रतिशत शेयर र पोस्टस्क्रिप्टलाई एप्पलको लेजरराइटरमा राख्ने लाइसेन्स सम्झौतामा सहमत भए ।
जब सन् १९८५ मा म्याकिन्टोस र एल्डस पेजमेकरसँगै लेजरराइटर बजारमा आयो, रातारात डेस्कटप पब्लिशिङको जन्म भयो र एडोबीले कम्प्युटरबाट छापिने लगभग हरेक व्यावसायिक पृष्ठबाट रोयल्टी सङ्कलन गर्न थाल्यो । यो एक हिसाबले पैसा छाप्ने मसिन जस्तै थियो ।
त्यसपछि आयो फोटोशप
सन् १९८९ मा थोमस र जोन नोलले एडोबीलाई एउटा इमेज-प्रोसेसिङ टुल देखाए । जुन उनीहरूले 'डिस्प्ले' नामक साइड प्रोजेक्टको रूपमा सुरु गरेका थिए । थोमस युनिभर्सिटी अफ मिसिगनमा पीएचडीका विद्यार्थी थिए । जोनले लुकासफिल्मको इन्डस्ट्रियल लाइट एन्ड म्याजिक - जुन स्टार वार्स पछाडिको इफेक्ट स्टुडियो थियो, मा काम गर्थे र उनले आफ्नो भाइले बनाएको कुराको महत्त्व तुरुन्तै बुझिहाले ।
यो डिजिटल कम्पोजिटिङ टुलको यस्तो जग थियो, जसका लागि स्टुडियोहरू मरिहत्ते गर्थे । एडोबीले यसको लाइसेन्स लियो र सन् १९९० को फेब्रुअरीमा फोटोशप १.० बजारमा आयो ।
फोटोशपको सबैभन्दा उत्कृष्ट पक्ष यसको भर्चुअल मेमोरी सिस्टम थियो । केही मेगाबाइट (एमबी) र्याम पनि विलासिता मानिने त्यस युगमा, फोटोशपले र्याम र डिस्कबिच इमेज टाइलहरू साटासाट गर्न सक्थ्यो । ताकि प्रयोगकर्ताहरूले आफ्नो मसिनको वास्तविक मेमोरी क्षमताभन्दा धेरै गुणा ठुला फोटोहरू सम्पादन गर्न सकून् । अहिले यो सामान्य सुनिए पनि त्यस समयमा यो जादुमय लाग्थ्यो ।
यसको तेस्रो खम्बा पीडीएफ थियो । यो सन् १९९१ मा वार्नकको गोप्य परियोजनाको रूपमा सुरु भएको थियो । जसको कोड नाम 'क्यामलोट' राखिएको थियो । यसको साधारण लक्ष्य थियो- कागजातहरूलाई जुनसुकै मसिनमा हेर्न मिल्ने बनाउनु । यो सन् १९९३ मा पोर्टेबल डकुमेन्ट फर्म्याट अर्थात् पीडीएफको रूपमा सार्वजनिक भयो । यही नै हाम्रो पुरानो र भरपर्दो पीडीएफ हो ।
त्यो पुरानो एडोबीको सबैभन्दा उत्कृष्ट रूप थियो - गहन इन्जिनियरिङ, व्यावहारिक मापदण्ड र अन्य कम्पनीहरूले समस्या के हो भनेर बुझ्नुअघि नै समाधान दिने उत्पादन । तर त्यसपछि एडोबीले अर्कै रणनीति सिक्यो ।एडोबीले कम्पनी अधिग्रहण गर्न सिक्यो ।
प्रतिस्पर्धी समाप्त पार्ने अधिग्रहणको रणनीति
वार्नकले सन् २००० सम्म संस्थापक-इन्जिनियरको रूपमा कम्पनी चलाए र त्यसपछि सीईओको कुर्सी ब्रुस चिजेनलाई हस्तान्तरण गरे । चिजेन इन्जिनियर नभई सेल्सम्यान थिए र उनले एडोबीलाई अनुसन्धानमा आधारित टुल कम्पनीबाट एक्रोब्याट र उद्यममा केन्द्रित व्यावसायिक मसिनमा परिणत गरे । संस्थापकहरू सह-अध्यक्षको भूमिकामा फर्किए र नयाँ नेतृत्वसँगै एडोबीको प्रवृत्ति पनि बदलियो । कम्पनीले प्रतिस्पर्धीहरूलाई इन्जिनियरिङमा उछिन्नुको साटो उनीहरूलाई किन्न थाल्यो ।
सन् १९९४ मा एल्डसको ४३ करोड ७० लाख डलरमा भएको अधिग्रहणले आफ्टर इफेक्ट्स र पेजमेकर भित्रिए । पेजमेकरलाई पछि इन्डिजाइनको रूपमा पुनर्जन्म दिइयो । ताकि यसको प्रमुख प्रतिस्पर्धी क्वार्कएक्सप्रेसलाई व्यवस्थित रूपमा समाप्त गर्न सकियोस् । तर सबैभन्दा ठुलो कदम सन् २००५ मा चालियो, जब एडोबीले आफ्नो सबैभन्दा कडा प्रतिस्पर्धी म्याक्रोमिडियालाई ३ अर्ब ४० करोड डलरमा खरिद गर्यो ।
जसमा ड्रिमविभर, फ्ल्याश र फ्रिह्यान्ड समावेश थिए । त्यसपछि एडोबीले यसको संरचनालाई निकै चलाखीपूर्वक छिन्नभिन्न पार्यो । ड्रिमविभरलाई एडोबीमा समाहित गरियो भने एडोबीको आफ्नै गोलाइभलाई सुटुक्क बन्द गरियो । फ्ल्याशलाई स्टिभ जब्सले सन् २०१० मा आफ्नो Thoughts on Flash निबन्धमार्फत व्यक्तिगत रूपमा अन्त्य नगरुन्जेल एडोबीले व्यापक रूपमा प्रयोग गर्यो ।
फ्रि फ्रिह्यान्ड
यसको सबैभन्दा उदाहरणीय सिकार फ्रिह्यान्ड बन्यो । भेक्टर आर्टिस्टहरू इलुस्ट्रेटरको तुलनामा फ्रिह्यान्डलाई बढी मन पराउँथे । यो उत्कृष्ट थियो । तर मर्जरपछि एडोबीले यसको विकास पूर्ण रूपमा रोकिदियो । सन् २०११ मा डिजाइनरहरूको एउटा समूहले 'फ्रि फ्रीह्यान्ड अर्गनाइजेसन' गठन गरी एडोबीविरुद्ध एकाधिकार विरोधी मुद्दा दायर गर्यो ।
उनीहरूको तर्क थियो कि एडोबीले इलुस्ट्रेटरको एक मात्र वास्तविक प्रतिस्पर्धीलाई समाप्त पार्नकै लागि म्याक्रोमिडिया किनेको हो । महत्त्वपूर्ण कुरा के थियो भने उनीहरूको माग कहिल्यै पनि पैसा थिएन; उनीहरू वास्तवमा एडोबीले फ्रिह्यान्डको सोर्स कोड सार्वजनिक गरोस् भन्ने चाहन्थे ताकि समुदायले यसलाई ओपन-सोर्स प्रोजेक्ट बनाएर आधुनिक अपरेटिङ सिस्टमहरूमा जीवित राख्न सकोस् ।
तर उनीहरूले त्यो कहिल्यै पाएनन् । सन् २०१२ मा यो मुद्दा सुटुक्क टुङ्ग्याइयो । सोर्स कोड सार्वजनिक गरिएन र फ्रिह्यान्ड सधैंका लागि मरेर गयो । एडोबीले चाहेको प्रयोगकर्ताहरूको स्थानान्तरण जे भए पनि पुरा भयो ।
यो एडोबीको परिपक्व साम्राज्यको स्वरूप थियो । यदि यसले कुनै प्रतिस्पर्धीलाई इन्जिनियरिङमा पछि पार्न सक्छ भने पछि पार्थ्यो । यदि किन्न सक्छ भने किन्थ्यो । र यदि प्रयोगकर्ताहरूले एडोबीले मारेको उत्पादनलाई बचाउन अनुरोध गर्थे भने उनीहरूलाई एडोबीकै अर्को विकल्पमा जान बाध्य पारिन्थ्यो ।
सिङ्गो उद्योगलाई नै निलिदिने सब्स्क्रिप्सन
सन् २००७ को डिसेम्बरमा चिजेनको स्थानमा आएका शान्तनु नारायण नै आधुनिक एडोबीका डिजाइनर हुन् । उनकै निर्णयले कम्पनीलाई एकातिर आर्थिक रूपमा शक्तिशाली बनायो भने अर्कोतिर क्रियटिभ कम्युनिटीको नजरमा खलनायक खडा गरिदियो ।
क्रिएटिभ सुइटको युगमा एडोबीको व्यवसाय चक्रिय रूपमा चल्थ्यो । हरेक १८ देखि २४ महिनामा नयाँ सीएस संस्करण आउने, मास्टर कलेक्सनको लागि करिब २,६०० डलरको आजीवन लाइसेन्स बिक्री हुने र हरेक संस्करणसँगै आम्दानीको ग्राफ उतारचढाव हुने गर्थ्यो । प्रयोगकर्ताहरूसँग अन्तिम निर्णय गर्ने अधिकार हुन्थ्यो । यदि सीएस-६ उनीहरूका लागि पर्याप्त थियो भने उनीहरू नयाँ संस्करणमा अपग्रेड नै गर्दैनथे ।
सन् २०१३ को मे महिनामा एडोबीले त्यो अधिकार खोस्यो । क्रिएटिभ सुइट ६ नै अन्तिम पर्पेचुअल संस्करण हुने घोषणा गरियो । अबदेखि क्रिएटिभ क्लाउडमार्फत सफ्टवेयर चलाउन सधैंका लागि प्रतिमहिना ५० डलर तिर्नुपर्ने भयो ।
यो परिवर्तनपछि, आजीवन लाइसेन्स भनिएको पर्पेचुअलको पनि एउटा म्याद समाप्त हुने मिति रहेछ भन्ने स्पष्ट भयो । एडोबीले सन् २०१४ मा सीएस-६ को आयु समाप्त भएको घोषणा गर्यो । सन् २०१५ मा यसको अन्तिम रिपेयर प्याचहरू पठायो र यसको बिक्री पूर्ण रूपमा बन्द गर्यो ।
कुनै नयाँ अपडेट नआएपछि सफ्टवेयर पुराना अपरेटिङ सिस्टमहरूमा मात्र सीमित भए । आधिकारिक रूपमा विन्डोज ८.१ र ओएस एक्स मेभरिक्स नै यसलाई सपोर्ट गर्ने अन्तिम प्लेटफर्महरू थिए । म्याकमा त यसले काम गर्नै छाड्यो । सीएस-६ को इन्स्टलर र धेरै कम्पोनेन्टहरू ३२-बिटका थिए, त्यसैले मोजाभेभन्दा पछिल्लो कुनै पनि ओएसमा यो इन्स्टल नै हुँदैनथ्यो र एप्पल सिलिकन आएपछि त यसको ढोका पूर्ण रूपमा बन्द भयो ।
त्यसपछि एडोबीले अन्ततः सीएस-६ का एक्टिभेसन सर्भरहरू पनि बन्द गरिदियो । जसको अर्थ वैधानिक सिरियल नम्बर भएका प्रयोगकर्ताले समेत नयाँ कम्प्युटरमा यसलाई एक्टिभेट गर्न सक्दैनथे । प्रयोगकर्ताहरूले सधैंका लागि आफ्नै बनाउन २,६०० डलर तिरेको लाइसेन्स अब एडोबीले बन्द गरिदिएको सर्भरमा निर्भर हुन पुग्यो ।
यसबाट प्रयोगकर्ताहरू तुरुन्तै आक्रोशित भए । एडोबीलाई यो निर्णय फिर्ता लिन माग गर्दै Change.org मा ३५,००० भन्दा बढी मानिसले हस्ताक्षर गरे । तर त्यसको कुनै अर्थ रहेन । एडोबीसँग फाइल फर्म्याटहरू मार्फत सबैको काम नियन्त्रण गर्ने शक्ति थियो । वर्षौंदेखि डट पीएसडी, डट एआई र डट आईएनडीडी फाइलहरूमा सुरक्षित गरिएका कामहरू एडोबीको बन्धकजस्तै बने ।
र मूल्य पनि देखाइएको जति मात्र थिएन । एडोबीले नयाँ ग्राहकहरूलाई सिफारिस गर्ने 'वार्षिक योजना, मासिक भुक्तानी' प्याकेज मासिक सम्झौता जस्तो देखिए पनि कानुनी रूपमा यो किस्ताबन्दीमा तिरिने १२ महिनाको सम्झौता हुन्थ्यो । बीचमै रद्द गर्दा एडोबीले सम्झौताको बाँकी रकमको ५० प्रतिशत रकम जरिबाना स्वरूप असुल गर्थ्यो ।
यो विवरण साना अक्षरहरूमा र माउसको कर्सर लैजाँदा मात्र देखिने टुलटिप भित्र लुकाइएको हुन्थ्यो । यसको अर्थशास्त्र निकै चलाखीपूर्ण थियो । यदि ग्राहक बसिरहे एडोबीले पैसा कमाउँथ्यो, यदि ग्राहकले रद्द गरे पनि एडोबीले पैसा कमाउँथ्यो । दुवै हातमा लड्डु ।
एडोबीका लागि सबै कुरा राम्रै भइरहेको थियो । उनीहरूले सफलतापूर्वक आजीवन लाइसेन्सबाट सब्स्क्रिप्सन मोडेलमा फड्को मारे र आम्दानीमा भारी वृद्धि हासिल गरे । तर अब, यो साम्राज्यमा दरारहरू देखिन थालेका छन् ।
एडोबीलाई फिग्माले दिएको झड्का
सन् २०२२ को सेप्टेम्बरमा एडोबीले फेरि एक पटक म्याक्रोमिडियाकै पुरानो रणनीति अपनाउँदै फिग्मालाई २० अर्ब डलरमा खरिद गर्ने घोषणा गर्यो । जुन त्यस समयमा उक्त स्टार्टअपको आम्दानीभन्दा करिब ५० गुणा बढी थियो । यति ठुलो रकम तिर्नुको एउटै उद्देश्य थियो - आफ्नो अस्तित्वमाथि आइपरेको खतरालाई सधैंका लागि समाप्त पार्नु ।
फिग्माले यस्तो काम गरेर देखाएको थियो, जसलाई एडोबीका इन्जिनियरहरूले सार्वजनिक रूपमै असम्भव भनेका थिए । यसले ब्राउजरको एउटा ट्याबभित्रै पूर्ण व्यावसायिक डिजाइन टुल चलाएर देखायो ।
यसको रेन्डरिङ इन्जिन सी++ मा लेखिएको थियो र वेबएसेम्बलीमा कम्पाइल गरिएको थियो । जसले वेबजीएल मार्फत रेखाचित्रहरू कोर्थ्यो र सीआरडीटी अनुसन्धानबाट प्रेरित आन्तरिक मल्टिप्लेयर प्रोटोकलमार्फत हरेक कर्सर र सम्पादनलाई तत्काल सिङ्क्रोनाइज गर्थ्यो ।
त्यहाँ फाइल सेभ गर्ने, ईमेलबाट भर्सनहरू पठाउने वा सफ्टवेयर इन्स्टल गर्ने झन्झट नै थिएन । यसको तुलनामा एडोबी एक्सडीको डेस्कटप-केन्द्रित आर्किटेक्चर पुरानो शताब्दीको जस्तो देखिन्थ्यो । यूआई डिजाइनरहरूको नयाँ पुस्ता एडोबीको कुनै भी उत्पादन नखोलेरै हुर्कियो ।
तर २०२२ को वर्ष सन् २००५ जस्तो थिएन । बेलायतको कम्पिटिसन एन्ड मार्केट अथोरिटी र युरोपेली आयोगले एडोबीले आफ्नो सम्भावित प्रतिस्पर्धीलाई बजारमा आउनै नदिन र प्रतिस्पर्धा रोक्नका लागि यो खरिद गर्न लागेको तर्क गर्दै सम्झौता रोकिदिए ।
फ्रिह्यान्डकै पुरानो रणनीति यहाँ पनि दोहोरिएको नियामकहरूले बुझिसकेका थिए । सन् २०२३ को डिसेम्बरमा दुवै कम्पनीले यो मर्जर सम्झौता रद्द गरे र एडोबीले फिग्मालाई १ अर्ब डलर ब्रेकअप फि तिर्नुपर्यो ।
त्यसको तीन वर्षपछि, सन् २०२५ को ३१ जुलाईमा फिग्मा न्युयोर्क स्टक एक्स्चेन्जमा प्रति शेयर ३३ डलरमा सूचीकृत भयो र पहिलो दिनको कारोबार ११५.५० डलरमा बन्द भयो । यो २५० प्रतिशतको उछाल थियो र अर्ब डलरको टेक आईपीओका लागि दशकौंपछिको सबैभन्दा ठुलो पहिलो दिनको वृद्धि थियो ।
यसले कम्पनीको मूल्य छोटो समयमै ६८ अर्ब डलर पुर्यायो । जुन एडोबीले अफर गरेको भन्दा तीन गुणा बढी थियो । एडोबीले आफूले किन्न चाहेको कम्पनी आफ्नो सबैभन्दा खतरनाक सार्वजनिक प्रतिस्पर्धी बनेको हेर्नका लागि मात्र १ अर्ब डलर गुमाउनु पर्यो ।
नियामकको नजर
सब्स्क्रिप्सन मसिनका यी चलाखीपूर्ण रणनीतिहरू अन्ततः सरकारी अनुसन्धानको दायरामा परे । अमेरिकी सङ्घीय व्यापार आयोगले सन् २०२४ को जुनमा एडोबीविरुद्ध मुद्दा दायर गर्यो । मुद्दा त्यही 'वार्षिक योजना, मासिक भुक्तानी' योजना, लुकाइएको जरिबाना र ग्राहकलाई अल्झाउन अनेकौं झन्झटिला चरणहरू राखिएको क्यान्सिलेसन प्रक्रियामा केन्द्रित थियो ।
सन् २०२६ को मार्चमा एडोबीले कुनै पनि गल्ती स्वीकार नगरी १५ करोड डलर तिर्ने गरी सम्झौता गर्यो । जसमा ७.५ करोड डलर नागरिक जरिबाना र ७.५ करोड डलर प्रभावित ग्राहकहरूलाई निःशुल्क सेवा दिने सहमति भयो ।
अदालतको आदेशले एडोबीलाई रद्द गर्दा लाग्ने शुल्क सुरुमै स्पष्ट खुलाउन र रद्द गर्ने प्रक्रिया अत्यन्त सरल बनाउन बाध्य पारेको छ । एडोबीको २६ अर्ब डलरको आम्दानीको तुलनामा यो जरिबाना निकै सानो रकम हो ।
तर कम्पनीको प्रतिष्ठामा परेको असर भने ठुलो छ । अमेरिकी सरकारले आधिकारिक रूपमा सार्वजनिक उजुरीमै एडोबीको आम्दानीको केही हिस्सा बाहिरिने बाटो पत्ता लगाउन नसकेका ग्राहकहरूबाट आर्जित भएको कुरा दस्तावेजमै उल्लेख गरेको छ ।
प्रतिस्पर्धामा जेनेरेटिभ एआई
अब एडोबीले धेरै प्रतिस्पर्धीहरूबाट चुनौती सामना गर्दैछ । जेनेरेटिभ एआईको आगमन भयो र यसबाट विस्थापित हुने डरले त्रसित एडोबी यसको सबैभन्दा ठुलो प्रवक्ता बन्यो । यसको जेनेरेटिभ मोडेलहरूको परिवार 'फायरफ्लाई' लाई एडोबीकै लाइसेन्सप्राप्त तस्बिरहरू र पब्लिक डोमेनका सामग्रीहरूमा मात्र तालिम दिइएको थियो ।
जसका कारण एडोबीले व्यावसायिक संस्थाहरूलाई कानुनी सुरक्षाको ग्यारेन्टी दिन सक्यो, जुन इन्टरनेटबाट जथाभाबी डेटा तान्ने मिडजर्नी जस्ता प्रतिस्पर्धीहरूले दिन सक्दैनथे । फोटोशपमा 'जेनेरेटिभ फिल' थपियो । एडोबीका हरेक विज्ञापन र प्रस्तुतिले एउटै सन्देश दियो- अब तपाईंलाई महँगो सफ्टवेयर चलाउन वर्षौंसम्म सीप सिकिरहनु पर्दैन-तपाईंलाई जे चाहिन्छ, केवल त्यही लेख्नुहोस् ।
यो सन्देश अलि बढी नै प्रभावकारी भयो । अहिले लगभग हरेक कम्पनीसँग च्याटजीपीटी, क्लाउड वा जेमनाई जस्ता एआई सब्स्क्रिप्सनहरू छन् र यी मोडेलहरू तस्बिर सिर्जना र सम्पादन गर्न निकै सक्षम भइसकेका छन् ।
ब्यानर बनाउन पहिले क्रिएटिभ क्लाउडको लाइसेन्स चाहिने डिजाइनरले अब धेरै सस्तो (अथवा निःशुल्क) विकल्पहरू प्रयोग गर्न सक्छन्, जसलाई कुनै समय खेलौना ठानेर बेवास्ता गरिन्थ्यो-जस्तै क्यान्भा, फोटोपिया, एफिनिटी, क्रिटा र गिम्प । र बाँकी रहेका मसिना कामहरू एआईको सहयोगमा सजिलै पुरा गर्न सक्छन् ।
फिग्मा, क्यान्भा, एफिनिटी, गिम्प, क्रिटा, डार्कटेबल र अन्य थुप्रै टुलहरूले एडोबीलाई भेट्टाइसकेका छन् । यीमध्ये कुनै एउटैले मात्र एडोबीलाई समाप्त पार्नु पर्दैन । तिनीहरूले एडोबीको प्रयोगलाई विस्थापित गरिदिए मात्र पुग्छ । कुनै समय फोटोशप चाहिने सामाजिक सञ्जालको ग्राफिक्स अब लेयर मास्क कहिल्यै नचलाएको व्यक्तिले पनि ब्राउजरमै बनाउन सक्छ । एडोबीका सफ्टवेयरहरू अब अपरिहार्य रहेनन् ।
एडोबीले यो डरलाई बढाइचढाइ गरिएको दाबी गर्छ र अहिलेसम्मका तथ्याङ्कले पनि यसैलाई पुष्टि गर्छन् । नारायणले आफ्नो अन्तिम वित्तीय रिपोर्ट सार्वजनिक गर्ने क्रममा लगानीकर्ताहरूलाई सन् २०२६ को पहिलो ६ महिनामा समग्र आम्दानीको वृद्धि अझ तीव्र भएको बताएका थिए ।
तर एउटा सङ्केत भने स्पष्ट देखिई सकेको छ । एडोबी स्टकको परम्परागत फोटोग्राफी व्यवसाय द्रुत गतिमा ओरालो लागिरहेको छ । जसलाई एडोबी आफैंले बेचिरहेको जेनेरेटिभ मोडेलहरूले खाइरहेका छन् । एआईले प्रत्यक्ष रूपमा समाप्त पारेको एडोबीको यो पहिलो व्यवसाय हो र अब पालो कुनको हो भनेर लगानीकर्ताहरू चिन्तित छन् ।
र यो सङ्क्रमणकालीन अवस्थाको नेतृत्व गर्ने कोही पनि छैन । सन् २०२६ मा नारायणले सीईओ पद छाड्ने घोषणा गरे । बोर्डले एआई पृष्ठभूमि भएका बाह्य उम्मेदवार र आन्तरिक उम्मेदवारहरूबिच मूल्याङ्कन गरिरहँदा उनी अध्यक्षको रूपमा मात्र रहनेछन् ।
१९ वर्षको कार्यकाल, सब्स्क्रिप्सन क्रान्ति, फिग्माको असफलता र फायरफ्लाईको दाउपेचपछि, कम्पनीको सबैभन्दा ठुलो रणनीतिक योजनालाई कार्यान्वयन गर्नुपर्ने मुख्य घडीमै सीईओले कुनै उत्तराधिकारी नतोकी पद छाड्दैछन् ।
इन्साइडर फाइलिङहरूका अनुसार नारायणले अप्रिलमा करिब ७५,००० शेयर प्रतिशेयर २४४ डलरका दरले बिक्री गरेका थिए । यसको पछाडिको उद्देश्य के थियो, त्यो सायद कहिल्यै थाहा हुने छैन ।
शेयर बजारको मूल्य
सामान्यतया शेयरको मूल्यले भविष्यमा कम्पनीले कति नाफा कमाउला भन्ने लगानीकर्ताको अपेक्षालाई दर्साउँछ । राम्रोसँग फस्टाइरहेका सफ्टवेयर कम्पनीहरूको शेयर कारोबार उनीहरूको वार्षिक आम्दानीको २५ देखि ४० गुणासम्म हुने गर्छ । तर आज एडोबीको कारोबार करिब ९ गुणा मात्र भइरहेको छ, जुन स्तर वाल स्ट्रिटले प्रायः डुब्न लागेका व्यवसायहरूका लागि मात्र सुरक्षित राख्ने गर्छ ।
तर एडोबी त्यस्तो कम्पनी होइन । यसको आम्दानी अझै पनि दोहोरो अङ्कले बढिरहेको छ । यसले वार्षिक झन्डै १० अर्ब डलर नगद प्रवाह गरिरहेको छ र यसको नाफाको मार्जिन सफ्टवेयर उद्योगकै सबैभन्दा बढीमध्ये पर्छ । अर्को शब्दमा भन्नु पर्दा, वित्तीय विवरणहरूले कम्पनी बलियो देखाए पनि लगानीकर्ताहरूले एडोबी डुब्दै गरेको जसरी यसको मूल्य निर्धारण गरिरहेका छन् । यी दुईबिचको भिन्नता भनेको कम्पनीको पतन अहिलेसम्म वित्तीय विवरणहरूमा मात्र नदेखिएको हो भन्ने लगानीकर्ताहरूको बुझाइ हो ।
एडोबीको बोर्डले यसको प्रतिकार गर्न आफ्नो एकमात्र विकल्प प्रयोग गर्यो - सन् २०३० सम्म आफ्नै २५ अर्ब डलर बराबरको शेयर फिर्ता खरिद गर्ने प्रतिबद्धता जनायो । आर्थिक वर्ष २०२५ मा मात्रै कम्पनीले करिब १२ अर्ब डलरको शेयर फिर्ता खरिद गरिसकेको छ । यति ठुलो परिमाणमा शेयर खरिद गर्नु भनेको कम्पनीले बजारले आफ्नो वास्तविक मूल्य बुझ्न नसकेको दाबी गर्दै आफ्नै नगद दाउमा राख्नु हो ।
साम्राज्यहरू विरलै एउटै प्रहारबाट ढल्छन्, तर यो साम्राज्यले एकै पटक धेरै प्रहारहरू खपिरहेको छ । एडोबीले संसारभरका क्रियटरहरूलाई सधैंका लागि आफ्नो भाडावाला बनाएको थियो । तर अहिले देखिएका दरारहरूले एउटै असजिलो सम्भावनालाई औंल्याउँछन्-जेरक्स पार्कबाट दुई इन्जिनियर बाहिर निस्किएयता पहिलो पटक, ती भाडावालाहरूले बाहिरिने ढोका प्रस्ट देखिरहेका छन् ।
-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा
पछिल्लो अध्यावधिक: असार २५, २०८३ १३:४०
