close

पूर्वी रुकुम पुग्यो टेलिकमको फाइबर इन्टरनेट, अब देशका ३ जिल्ला मात्रै बाँकी

टेकपाना टेकपाना

पुस ९, २०८० १७:५

पूर्वी रुकुम पुग्यो टेलिकमको फाइबर इन्टरनेट, अब देशका ३ जिल्ला मात्रै बाँकी

काठमाडौं । नेपाल टेलिकमले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउने भएको छ । आइतवार कम्पनीले उक्त स्थानमा परीक्षण सेवा प्रारम्भ गरेको हो ।

अब अन्तिम प्राविधिक परीक्षण पश्चात् छिट्टै ग्राहकहरूका लागि सेवाको सुरुवात हुने कम्पनीले जनाएको छ । यसका लागि रुकुमकोटमा दुई ओटा एफडीसी (फाइबर डिस्ट्रिब्युसन क्याबिनेट) मार्फत १०२४ लाइन क्षमताको नेटवर्क तयार गरिएको छ ।

अब रुकुमकोटमा एनटी फाइबर सेवामार्फत तीव्र गतिको डेटा, भ्वाइस र आईपीटीभी सेवा उपलब्ध हुनेछ । कम्पनीका अनुसार हाल रुकुमकोटमा रहेका करिब दुई सय सेवाग्राहीलाई पनि एफटीटीएच प्रविधिमा स्थानान्तरण गरी थप ग्राहकलाई समेत गुणस्तरीय सेवा उपलब्ध गराइने छ ।

यससँगै एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर उपलब्ध भएका जिल्लाको सङ्ख्या ७४ जिल्लामा पुगेको छ । अब डोल्पा, मुगु र हुम्लामा मात्र यो सेवा पुग्न बाँकी छ ।

ती जिल्लामा पनि क्रमशः सेवा विस्तार गर्ने योजना रहेको टेलिकमले जनाएको छ । एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको साटो घरसम्म अप्टिकल फाइबर पुर्‍याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र आईपीटीभी सेवा प्रदान गर्न सकिनेछ ।

यसले गर्दा ग्राहकका लागि यो सेवा निकै प्रभावकारी र उपयोगी रहेको छ । कम्पनीले यो सेवालाई ‘एनटी फाइबर’ को नाममा ब्रान्डिङ गरेको छ ।

नेपाल टेलिकमले एनटी फाइबर अन्तर्गत व्यक्तिगत र कर्पोरेट ग्राहकका लागि विभिन्न प्याकेज समेत उपलब्ध गराइरहेको छ ।

 

पछिल्लो अध्यावधिक: पुस ९, २०८० १७:५