काठमाडौं । एनसेल बिजनेसले ललितपुरको नख्खुस्थित आफ्नो डेटा सेन्टरका लागि विश्वकै प्रतिष्ठित ‘एएनएसआई/टीआईए-९४२-सी रेटेड ३’ (डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटी) प्रमाणीकरण प्राप्त गरेको छ । यो स्तरको प्रमाणीकरण प्राप्त गर्ने आफनो डेटा सेन्टर नेपालकै पहिलो पूर्वाधार भएको एनसेलको दाबी छ ।
अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यो ‘टियर थ्री’ प्रमाणीकरणले एनसेलको डेटा सेन्टरको विश्वसनीयता, सुरक्षा र गुणस्तरको उच्च मापदण्डलाई पुष्टि गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
यो प्रमाणीकरणको अर्थ, डेटा सेन्टरमा रहेका मसिन वा उपकरणहरू मर्मत गर्दा सेवामा कुनै अवरोध नआउने (समानान्तर मर्मत योग्य क्षमता) र प्रतिकूल परिस्थितिबाट पनि छिट्टै उठ्न सक्ने मजबुत पूर्वाधार रहेको छ । पूर्ण रूपमा अतिरिक्त विद्युत आपूर्ति, कुलिङ र नेटवर्क प्रणालीका कारण यो डेटा सेन्टर वार्षिक ९९.९८२ प्रतिशत समय बिना अवरोध सञ्चालनमा रहनेछ ।
यसको मूल्यांकन र प्रमाणीकरण टेलिकम्युनिकेशन इन्डष्ट्री एसोसिएसन (टीआईए) बाट अधिकार प्राप्त अडिट संस्था 'डेटा सेन्टर मिडिया एलएलपी' ले गरेको हो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले यस उपलब्धिलाई नेपालको सूचना प्रविधि क्षेत्रकै एक कोशेढुङ्गा भनेका छन् । उनले भने, “हामी विश्वस्तरीय डिजिटल पूर्वाधार उपलब्ध गराउन प्रतिबद्ध छौँ, जसले स्थानीय व्यवसायहरूलाई विस्तार गर्न आत्मविश्वास दिन्छ र सरकारको डिजिटल रूपान्तरणको लक्ष्यलाई सहयोग पुर्याउँछ। संवेदनशील क्षेत्रका ग्राहकहरूले अब नेपालमै होस्ट गरिएका सुरक्षित सेवाहरूमा भरोसा गर्न सक्छन् ।”
एनसेलले सूचना सुरक्षा र गोपनीयताका लागि यसअघि नै 'आईएसओ २७००१' र 'आईएसओ २७७०१' जस्ता मानकसमेत प्राप्त गरिसकेको छ । यसका साथै गुणस्तरीय सेवा र वातावरणीय प्रभाव न्यूनीकरणका लागि 'आईएसओ ९००१' र 'आईएसओ १४००१' प्रमाणीकरण पनि पाइसकेको छ।
यो प्रमाणीकरणसँगै एनसेल बिजनेसले बैंक, वित्तीय संस्था, बीमा कम्पनी, सरकारी निकाय र ठुला उद्योगहरूलाई अत्यन्तै सुरक्षित र भरपर्दो डिजिटल सेवा प्रदान गर्ने क्षमतामा वृद्धि गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार यसले बैंकिङ कारोबार, अनलाइन सेवा र अन्य महत्वपूर्ण प्रणालीहरू बन्द रहने समय (डाउन-टाइम) लाई न्यूनतम बनाउँछ ।
साथै, यसले नेपालको महत्त्वपूर्ण डेटालाई विदेशका सर्भरमा निर्भर रहनुको साटो स्वदेशमै सुरक्षित राख्न मद्दत पुर्याउने बताइएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २६, २०८३ २१:३२
