close

एक्कासी विद्तयुतको तार शर्ट भई बुढानीलकण्ठ स्थित गाडीमा आगलागी भएको होः एमजी मोटर्स

टेकपाना टेकपाना

पुस १८, २०८० २०:१८

एक्कासी विद्तयुतको तार शर्ट भई बुढानीलकण्ठ स्थित गाडीमा आगलागी भएको होः एमजी मोटर्स

काठमाडौं । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले बुढानीलकण्ठमा चार्जिङका क्रममा गाडी जलेर नष्ट भएको विषयमा प्रेस विज्ञप्ति जारी गरेको छ । कम्पनीले गाडी जलेको विषयलाई लिएर बुधवार आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

प्रारम्भिक रूपमा हेर्दा बिहान १ः१५ बजेको समयमा एक्कासी विद्युत्‌को तार शर्ट भई आगलागी भएर गाडी पूर्ण रूपमा जलेको देखिएको कम्पनीले बताएको छ । "उक्त घटनाको सम्बन्धमा यस कम्पनीलाई जानकारी भए पश्चात् तत्काल सोही दिन यस कम्पनीका प्राविधिक कर्मचारी समेतको टोलीले स्थलगत रूपमा घटना स्थलमा अवलोकन गरेको थियो," कम्पनीले भनेको छ ।

"त्यस क्रममा हेर्दा र स्थानी प्रहरी प्रभाव बुढानीलकण्ठबाट भएको सर्जमिन मुचुल्का र प्रभागको पत्रको ब्यहोरा समेतमा भएको विवरण अनुसार उक्त घटनामा जलेको गाडी विद्युत् प्रवाह भएको घरबाट केही स्थान पर खुला स्थानमा पार्किङ गरिएको थियो ।" त्यहाँ साँझ ६ बजेदेखि चार्जमा राखेको अवस्थामा बिहान १ः१५ बजेको समयमा आगलागी भएको कम्पनीले जनाएको हो ।

एमजी ब्रान्डका चार पाङ्ग्रे गाडीहरू उच्चतम प्रविधिको प्रयोग गरी सुरक्षित रूपमा निर्माण गरी विश्वव्यापी रूपमा प्रयोग भइरहेको उल्लेख छ । टेकपानाले घटना भएको एक सातापछि मङ्गलवार कम्पनीको बागमती प्रदेश ०१-०२७ ख १५८१ नम्बरको एमजी जेडएस ईभी गाडी आगलागी भई नष्ट भएको समाचार प्रकाशित गरेको थियो ।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ देउवाचोक नजिकै भएको उक्त घटनालाई लिएर सामाजिक सञ्जालमा समेत निकै चर्चा भइरहेको छ ।

पछिल्लो अध्यावधिक: पुस १८, २०८० २०:२३