मोबाइल सेवाका लागि स्पेस एक्सले प्रक्षेपण गर्यो पहिलो स्याटलाइट, अर्को वर्ष भ्वाइस र डेटा दिने
पुस २०, २०८० ११:५
काठमाडौं । एलन मस्कको स्पेस एक्सले मोबाइल सेवाका लागि पहिलो पटक छ ओटा स्याटलाइट प्रक्षेपण गरेको छ । कम्पनीले टी-मोबाइल र अन्य सेवा प्रदायकको नेटवर्कमा प्रयोग गर्नेगरी यही साताको सुरुतिर डाइरेक्ट-टु-सेल स्याटलाइट पृथ्वीको कक्षमा पठाएको हो ।
स्टारलिङ्क डाइरेक्ट-टु-सेल स्याटलाइट प्रविधिले अन्तरिक्षमा मोबाइल टावरको जस्तै काम गर्ने स्पेस एक्सले जनाएको छ । जसले जमिनको सतहमा रहेका टावरले पहुँच पुर्याउन नसकेका क्षेत्रमा फोन नलाग्ने समस्याको निराकरण गर्नेछ ।
View of last night’s @Starlink satellite deployment, including the first six with Direct to Cell capabilities pic.twitter.com/tjrWMJfqH4
— SpaceX (@SpaceX) January 3, 2024
कम्पनीका अनुसार मङ्गलवार फाल्कन नाइन रकेटमार्फत अन्य १५ ओटा स्टारलिङ्क स्याटलाइटसँगै डाइरेक्ट-टु-सेल स्याटलाइट प्रक्षेपण गरिएका थिए । टी-मोबाइलले चाँडै नै त्यसबाट फिल्ड टेस्टिङ (जमिनी सतहमा गरिने परीक्षण) गरिने जनाएको छ ।
यद्यपि प्रारम्भिक चरणमा भने प्रयोगकर्ताले टेक्स्ट मेसेजको कभरेज मात्रै प्राप्त गर्न सक्ने उल्लेख छ ।
टी-मोबाइलका बजार, रणनीति र उत्पादनका अध्यक्ष माइक काट्जले भनेका छन्, "स्पेस एक्ससँगको यो उल्लेखनीय तथा महत्त्वपूर्ण सहकार्यसँगै विश्वभर रहेका हाम्रा साझेदारहरूसँग मिलेर 'डेड जोन' (मोबाइल नेटवर्क पुग्न नसकेका क्षेत्र) लाई इतिहास बनाउनका लागि काम गर्नेछौं ।"
बहुराष्ट्रिय दूरसञ्चार कम्पनीको रूपमा रहेको टी-मोबाइलले गत अगस्टमा डाइरेक्ट-टु-सेलका लागि पहिलो साझेदारको रूपमा स्पेस एक्ससँग सम्झौता गरेको थियो । अन्य छ ओटा कम्पनी समेत यो प्रविधि प्रयोग गर्ने योजनामा रहेको स्पेस एक्सले जनाएको छ ।
जसमा क्यानडाको रोजर, जापानमा रहेको केडीडी, अस्ट्रेलियामा अप्टस, न्युजिल्यान्डमा वन एनजेड, स्विजरल्यान्डको साल्ट र चिली तथा पेरुमा इन्टेल रहेका छन् । यसमा जोडिने सेवा प्रदायकका ग्राहकले पारस्परिक रूपमा विश्वव्यापी पहुँच प्राप्त गर्ने कुरा स्पेस एक्सले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
The six @Starlink satellites on this mission with Direct to Cell capability will further global connectivity and help to eliminate dead zones → https://t.co/FgiJ7LOYdK pic.twitter.com/zFy7SrpsYs
— SpaceX (@SpaceX) January 3, 2024
"यो प्रविधिले जमिनको कुनै पनि स्थानमा मोबाइल फोन कनेक्टिभिटी प्रदान गर्नेछ," मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन् । स्पेस एक्सले आगामी वर्ष डाइरेक्ट-टु-सेलमा भ्वाइस, डेटा र अन्य सेवा समेत ल्याउनेछ ।
पछिल्लो अध्यावधिक: पुस २०, २०८० ११:५
