close

ह्वावेले ल्यायो हार्मोनी ओएसको नयाँ संस्करण, एन्ड्रोइड एप सपोर्ट नहुने

टेकपाना टेकपाना

माघ ७, २०८० २०:२७

ह्वावेले ल्यायो हार्मोनी ओएसको नयाँ संस्करण, एन्ड्रोइड एप सपोर्ट नहुने

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता ह्वावेले हार्मोनी ओएसको नयाँ संस्करण सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार चीनमा एक पत्रकार सम्मेलन गर्दै आफ्नो नयाँ अपरेटिङ सिस्टम हार्मोनी ओएस नेक्स्ट सार्वजनिक गरेको हो ।

ह्वावेले आफ्नो सफ्टवेयर इकोसिस्टमलाई बढावा दिन एन्ड्रोइडको एउटा पनि कोड नराखी नयाँ ओएस ल्याएको छ । त्यसैले पनि यो ओएसलाई कम्पनीले ‘प्योर ब्लडेड हार्मोनी’ नाम दिएको छ ।

सुरुवाती चरणमा हार्मोनी ओएस नेक्स्टको बेटा भर्सन ह्वावे मेट ६० र मेट ६० प्रोका लागि उपलब्ध हुनेछ । नयाँ ओएस पूर्ण रूपमा २०२४ को सेप्टेम्बरसम्म बजारमा आउने अपेक्षा गरिएको छ ।

मोबाइल प्रविधिमा ह्वावेको यो कदमलाई क्रान्तिकारी परिवर्तनका रूपमा हेरिएको छ । ह्वावेका अनुसार हार्मोनी ओएस नेक्स्टमा सपोर्ट हुने २०० बढी एप्लिकेसन तयार भइसकेका छन् ।

६० भन्दा बढी डेभलपर टिमले गेमिङ एप बनाउन काम गरिरहेकाे छ । जसमा हाल ७० भन्दा बढी गेमको एप बनाउने काम तीव्र गतिमा अगाडि बढेको छ । ​हार्मोनी ओएस बजारमा आउँदा पाँच हजारभन्दा बढी एप्लिकेसन उपलब्ध हुने बताइएको छ ।

कम्पनीले यो नयाँ संस्करणको अपरेटिङ सिस्टम चिनियाँ बजारलाई केन्द्रित गरेर निर्माण गरेको हो । विशेषगरी हालै सार्वजनिक भएको बहुचर्चित स्मार्टफोन ह्वावे मेट ६० र नोभा १२ लाइनअपको चर्चापछि कम्पनीले यस्तो अपरेटिङ सिस्टम ल्याएको हो । यसले ह्वावे एन्ड्रोइडबाट पूर्ण रूपमा बाहिरिन लागेको सङ्केत मिलेको विश्लेषण गरिएकाे छ ।

त्यसबाहेक पनि हार्मोनी ओएसले आईओएसलाई पछाडि पार्ने विश्लेषकको आँकलन छ । अहिले चीनमा सबैभन्दा बढी एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग भइरहेको छ । ह्वावे दोस्रोमा रहेको आईओएसलाई पछि पार्दै आफ्नो स्थान कायम गर्न चाहन्छ ।

ह्वावेले पहिलो पटक सन २०१९ मा आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनी सिस्टम’ सार्वजनिक गरेको थियो । एन्ड्रोइड अपरेटिङ सिस्टमका सन्दर्भमा ह्वावेलाई प्राविधिक सपोर्ट दिन अमेरिकी सरकारले प्रतिबन्ध लगाएपछि उक्त कम्पनीलाई झनै समस्या परेको थियो । त्यसैले ह्वावेले एन्ड्रोइडमा निर्भर नभएर आफ्नै छुट्टै ओएस सञ्चालन गर्ने निर्णयमा पुगेको थियो ।

अगाडि सार्वजनिक भएका हार्मोनी ओएसका भर्सनले एन्ड्रोइड एप सपोर्ट गर्थे । तर, नयाँ ओएसले भने कुनै पनि एन्ड्रोइड एप सपोर्ट नगर्ने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: माघ ७, २०८० २०:२७