close

१६ वर्षे किशोरले त्रिविको वेबसाइट ह्याक गरेको विषयमा छानबिन गर्दै डीन नेतृत्वको समिति

टेकपाना टेकपाना

माघ २२, २०८० १९:३५

१६ वर्षे किशोरले त्रिविको वेबसाइट ह्याक गरेको विषयमा छानबिन गर्दै डीन नेतृत्वको समिति

 

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय (पनिका) को वेबसाइट ह्याक भएकोबारे छानबिन गर्न त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले एक समिति गठन गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) का डीन प्राध्यापक डाक्टर शशिधरराम जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । 

गत शुक्रबार गठन भएको समितिले अध्ययनका लागि १५ दिनको समय पाएको समितिका संयोजक तथा डीन प्राध्यापक डा जोशीले बताए । उनका अनुसार अहिलेसम्म समितिको बैठक भने बस्न भने सकेको छैन । 

केही दिन भित्र बैठक बसेर काम थाल्ने उनको भनाइ छ । वेबसाइट ह्याक हुनुको कारण, अब ह्याक हुन नदिने उपाय र आइपर्ने चुनौतीको विषय समेटेर प्रतिवेदन पेस गर्ने जिम्मेवारी समितिलाई दिइएको छ । 

त्रिविले गत सोमबार (१५ माघ) बाट पनिकाका सबै काम अनलाइनबाट प्रवाह गर्न सुरु गरेको थियो । त्यस अन्तर्गत विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, सर्टिफिकेट तथा प्रमाणपत्र सच्याउने लगायतका काम अनलाइनबाट गर्न सक्ने पनिकाले जनाएको छ । 

तर अनलाइन सेवा लिनका लागि विद्यार्थीको अकाउन्ट भेरिफाई नहुने समस्या देखिएको थियो । त्यसको लगत्तै मंगलबार बेलुकीदेखि उक्त वेबसाइट १२ कक्षामा अध्ययनरत एक विद्यार्थीले नियन्त्रणमा लिएका थिए । जुन वेबसाइट एक हप्ता बितिसक्दा समेत अझै नियमित हुन सकेको छैन । वेबसाइट नचल्दा विद्यार्थी तथा सेवाग्राही प्रभावित भएका छन् ।

पछिल्लो अध्यावधिक: माघ २२, २०८० १९:३६