close

त्रिविको वेबसाइट ह्याकबाट फिर्ता, अनलाइन सेवा १५ दिनपछि नियमित सञ्चालनमा

टेकपाना टेकपाना

फागुन २, २०८० १२:३१

त्रिविको वेबसाइट ह्याकबाट फिर्ता, अनलाइन सेवा १५ दिनपछि नियमित सञ्चालनमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) को वेबसाइट ह्याक भएको १५ दिनपछि फिर्ता आएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले ट्रान्सक्रिप्ट लगायतका सेवा अनलाइनमार्फत प्रदान गर्ने गरी मङ्गलबारदेखि वेबसाइट पुन: सञ्चालनमा आएको जानकारी दिए ।

"आवश्यक सबै परीक्षण गरेर हिजो साँझदेखि वेबसाइट लाइभ गरेका छौं," जोशीले टेकपानासँग भने, "आज छुट्टि परेको छ । भोलिसम्ममा सार्वजनिक सूचना जारी गरेरै वेबसाइट पुन: सञ्चालनमा आएको ब्यहोरा सूचित गरिने छ ।"

केही दिन अघि एउटा मात्रै सूचना राखेर पनिकाले आफ्नो अवरुद्ध वेबसाइट काम चलाउ तवरमा सञ्चालनमा ल्याएको थियो । वेबसाइट पूर्ण रूपमा सञ्चालनमा आएसँगै ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, कागजातमा रहेको त्रुटि सच्याउने लगायतका काम अनलाइनमार्फत प्रवाह हुन थालेका छन् ।

गत १५ माघदेखि पनिकाले विभिन्न प्रमाणपत्रको फाराम अनलाइनबाट भर्न मिल्ने सुविधा ल्याएको थियो । तर, अनलाइन सेवा सार्वजनिक भएको भोलिपल्टै विभिन्न समस्या देखिनुका साथै वेबसाइट नै ह्याकरको नियन्त्रणमा पुगेको थियो ।

पछिल्लो अध्यावधिक: फागुन २, २०८० १३:५