close

सबै एन्ड्रोइडको गुगल मेसेजमा आउँदै जेमिनाई, अब एआईले नै मेसेज ड्राफ्ट गरिदिने

टेकपाना टेकपाना

फागुन १५, २०८० १२:२१

सबै एन्ड्रोइडको गुगल मेसेजमा आउँदै जेमिनाई, अब एआईले नै मेसेज ड्राफ्ट गरिदिने

काठमाडौं । अब गुगल मेसेजबाटै जेमिनाईसँग संवाद गर्न सकिने भएको छ । कम्पनीले स्पेनको बार्सिलोनामा जारी मोबाइल वर्ल्ड कङ्ग्रेसको अवसरमा यो नयाँ फिचर घोषणा गरेको हो ।

गुगल मेसेजमा जेमिनाईसँग साथी जस्तै गरी मेसेज गर्न सकिनेछ । गुगलले यसै सातादेखि गुगल मेसेज रहेका सबै एन्ड्रोइड डिभाइसमा जेमिनाईको पहुँच दिने भएको हो । जसलाई ‘च्याट विथ जेमिनाई’ नाम दिइएको छ ।

विभिन्न वेबसाइटमा हुने च्याटबट जस्तै गरी गुगल मेसेजबाट जेमिनाईसँग कुराकानी गर्न सकिनेछ । च्याट गर्दा जेमिनाईले नै मेसेज ड्राफ्ट गर्ने, कार्यक्रम तथा इभेन्टको योजना बनाइदिने र कुनै आइडिया पिन गरिदिनेछ ।

यो फिचरमा पहुँच पाउन जेमिनाई एप इन्स्टल गरिरहनु पर्ने छैन । जेमिनाईसँग संवाद गर्ने तपाईंको कुनै योजना छैन भने पनि एन्ड्रोइड डिभाइसमा तपाईंका लागि अनेक रूपमा एआईको उपस्थिति देख्न सक्नु हुनेछ ।

जसले एन्ड्रोइड अटो प्रयोग गरिरहेका छन्, उनीहरूका लागि कारले नै एआईको सहयोगमा लामा मेसेजको सारांश तयार पारिदिनेछ । तपाईंका आँखा सडकमा हुँदै गर्दा एआईले सम्भावित रिप्लाई लगायत तपाईंले गर्न सक्ने सम्भावित कामका लागि तपाईंसँग सम्वाद गर्नेछ । 

 

पछिल्लो अध्यावधिक: फागुन १५, २०८० १४:४९