close

पोखरा विश्वविद्यालयमा ‘एआई एन्ड डेटा साइन्स’ पढ्ने अवसरः ९ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

टेकपाना टेकपाना

असार २६, २०८३ ७:१४

पोखरा विश्वविद्यालयमा ‘एआई एन्ड डेटा साइन्स’ पढ्ने अवसरः ९ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

काठमाडौं । पोखरा विश्वविद्यालयले ललितपुरको च्यासलस्थित आफ्नो आङ्गिक क्याम्पस श्रमिक शान्ति क्याम्पसमा ब्याचलर अफ एआई एन्ड डेटा साइन्स (बीएआईडीएस) कार्यक्रमका लागि भर्ना खुला गरेको छ । नेपालमै पहिलो पटक भित्र्याइएको दाबी गरिएको आठ सेमेस्टर (चार वर्ष) लामो उक्त कार्यक्रमका लागि विश्वविद्यालयले आवेदन आह्वान गरेको हो ।

विश्वविद्यालयका अनुसार यस कार्यक्रमका लागि कुल ४८ वटा सिट निर्धारण गरिएको छ । जसमध्ये विपन्न तथा जेहेनदार विद्यार्थीलाई लक्षित गर्दै ९ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको छ । चार वर्षको कुल शिक्षण शुल्क ४ लाख ७८ हजार रुपैयाँ तोकिएको छ । जसमा आठ वटै सेमेस्टरको शुल्क, रजिस्ट्रेसन र परीक्षा शुल्क समेत समावेश गरिएको छ । यसबाहेक विद्यार्थीले २० हजार रुपैयाँ धरौटी बुझाउनुपर्नेछ ।

यो कोर्स अध्ययन गर्नका लागि विज्ञान सङ्काय नै पढेको हुनुपर्ने बाध्यता छैन । कक्षा १२ वा सो सरहको परीक्षामा जुनसुकै सङ्कायबाट १०० पूर्णाङ्कको गणित वा कम्प्युटर साइन्स विषय लिई उत्तीर्ण गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन् । यस्तै कक्षा ९-१२ को प्राविधिक शिक्षातर्फ १०० पूर्णाङ्कको गणित वा कम्प्युटर पढेका वा ए लेभल अध्ययन गरेर न्यूनतम ‘डी’ ग्रेड प्राप्त गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन् । 

प्रवेश परीक्षाका लागि फारम बुझाउने समयसीमा २१ साउन २०८३ सम्म तोकिएको छ । प्रवेश परीक्षा भने श्रमिक शान्ति क्याम्पसमा २६ साउन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ । उक्त परीक्षामा कुल १५० पूर्णाङ्कको बहुवैकल्पिक प्रश्न सोधिने विश्वविद्यालयले जनाएको छ । विद्यार्थीले https://ssentrance.pu.edu.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

के पढाइन्छ यो कोर्समा ?

कुल १२२ क्रेडिट आवरको यो कोर्समा विद्यार्थीले सूचना प्रविधिको आधारभूत ज्ञानदेखि आर्टिफिसियल इन्टेलिजेन्सका अत्याधुनिक प्रविधि सिक्नेछन् । पाठ्यक्रममा प्रोग्रामिङ, डेटा स्ट्रक्चर, मसिन लर्निङ, डिप लर्निङ, कम्प्युटर भिजन, र नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ (एनएलपी) जस्ता विषयहरू समावेश छन् ।

यसका साथै एआई इथिक्स, साइबर सुरक्षा र डिजिटल अर्थतन्त्र जस्ता समसामयिक विषयलाई पनि प्राथमिकता दिइएको छ । कोर्सको अन्त्यमा विद्यार्थीले १३ क्रेडिटको प्रोजेक्ट र ३ क्रेडिटको अनिवार्य इन्टर्नशीप गर्नुपर्नेछ । जसका लागि विभिन्न डेटा एनालिटिक्स कम्पनी र सरकारी निकायहरूसँग समन्वय गरिने विश्वविद्यालयले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार २६, २०८३ ७:१४