close

भारतमा अब एआई टुल सार्वजनिक गर्नु अघि सरकारको अनुमति लिनुपर्ने

टेकपाना टेकपाना

फागुन २१, २०८० १६:३०

भारतमा अब एआई टुल सार्वजनिक गर्नु अघि सरकारको अनुमति लिनुपर्ने

काठमाडौं । भारत सरकारले एआई सम्बन्धी नयाँ व्यवस्था जारी गरेको छ । प्रविधि कम्पनीहरूलाई लक्षित गर्दै कुनै पनि एआई टुल सार्वजनिक गर्नु अघि अनुमति लिनु पर्ने नयाँ व्यवस्था लागु भएको हो । 

विशेषगरी भरोसा गर्न नसकिने खालका अथवा परीक्षणकै क्रममा रहेका एआई टुल सार्वजनिक रूपमा उपलब्ध गराउनु पूर्व सरकारी निकायबाट अनुमति लिनुपर्ने उल्लेख छ ।

परीक्षणकै क्रममा रहेका एआई टुलले प्रयोगकर्तालाई गलत जवाफ दिनसक्ने भन्दै भारतको सूचना तथा सञ्चार मन्त्रालयले यस किसिमको व्यवस्था गरेको उल्लेख छ । 

ठुला प्रविधि कम्पनीले सार्वजनिक गरेका एआई टुलले समेत गलत जवाफ दिएको भन्दै निकै आलोचना भइरहेका बेला भारत सरकारले यो खालको नीति लिएको हो । यसले एआईमार्फत प्रयोगकर्तालाई गलत जानकारी फैलाउनबाट रोक्ने अपेक्षा गरिएको छ ।

यसअघि गुगलको एआई टुल जेमिनाईले ऐतिहासिक दृश्यलाई गलत ढङ्गले देखाएको भन्दै चर्को आलोचना भएको थियो । आलोचना पश्चात् स्थगित गरिएको जेमिनाईको तस्विर तयार पार्ने फिचरलाई कम्पनीले सुधार गरेर पुनः प्रयोगकर्ता माझ ल्याउने जनाएको छ । यसका साथै मन्त्रालयले फेसबुक, ट्विटर (एक्स) लगायतका सामाजिक सञ्जाललाई समेत कस्ने गरी एआईमा नयाँ व्यवस्था गरेको उल्लेख छ । 


 

पछिल्लो अध्यावधिक: फागुन २१, २०८० १६:४३