४०० किमि रेन्ज दिने इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, मूल्य ४ लाख २३ हजार रुपैयाँ
असार ६, २०८३ १२:४
काठमाडौं । नेपाली विद्युतीय सवारी बजारमा उच्च रेन्ज भएको नयाँ स्कुटर भित्रिएको छ । चिनियाँ ब्रान्ड लुयानको नेपालस्थित आधिकारिक वितरक जिरो एमिसन राइड एनले ‘सारथी ईएस६’ नामको विद्युतीय स्कुटर बजारमा ल्याएको हो ।
कम्पनीका अनुसार यस स्कुटरमा सीएटीएलको ९.६ किलोवाट आवर क्षमताको लिथियम ब्याट्री जडान गरिएको छ । यो ब्याट्री सामान्यतया कारहरूमा प्रयोग हुने गरेको कम्पनीले जनाएको छ । एक पटक फुल चार्ज गरेपछि आइडियल अवस्थामा ४०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।
तराई क्षेत्र जस्ता समथर सडकहरूमा स्कुटरले अत्यधिक रेन्ज प्रदान गर्ने र काठमाडौं उपत्यकाभित्र गरिएको परीक्षणमा एकै पटकको चार्जमा ३५० किलोमिटरभन्दा बढी यात्रा गर्न सफल भएको कम्पनीको दाबी छ ।
स्कुटरको पिक पावर ४५०० वाट रहेको छ । यसमा हाई होल्ड एसिस्ट, डिजिटल डिस्प्ले, क्रुज कन्ट्रोल, १२ इन्चका ठुला पाङ्ग्रा, डबल डिस्क ब्रेक र कम्बाइन्ड ब्रेकिङ सिस्टम जस्ता सुविधा छन् । ठुलो लेग स्पेस र पर्याप्त बुट स्पेस भएकाले लामो यात्रा र दैनिक प्रयोगका लागि उपयुक्त हुने कम्पनीले बताएको छ ।
यो स्कुटरको मूल्य चार लाख २३ हजार रुपैयाँ तोकिएको छ । पठाओ, इनड्राइभ, याङ्गो जस्ता राइड-शेयरिङ चालकहरूलाई मुख्य लक्षित गर्दै ल्याइएको यस स्कुटरको औपचारिक लन्च आइतबार (भोलि) हुने जनाइएको छ ।
कम्पनीले विभिन्न स्थानमा परीक्षण गर्दा पिकअप, रेन्ज र प्रदर्शन सन्तोषजनक रहेको दाबी गरेको छ । नेपाली बजारमा उच्च रेन्जका विद्युतीय स्कुटरको माग बढ्दै गएको बेला सारथी ईएस६ ले ‘रेन्ज एन्जाइटी’ घटाउने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: असार ६, २०८३ १२:१९
