close

ह्वाट्सएपबाट कल गरेर छोरा अपहरण परेको भन्दै १२ लाख बढी ठगी

उजुरी दिनबाट रोक्न प्रहरीकै फोटो दुरुपयोग

टेकपाना टेकपाना

फागुन २२, २०८० ८:३६

ह्वाट्सएपबाट कल गरेर छोरा अपहरण परेको भन्दै १२ लाख बढी ठगी

काठमाडौं । गएको फागुन ५ गते बिहान ९ बजे रमेशलाल शर्मा (नाम परिवर्तन) लाई +९२३२५०१६९१३५ नम्बरबाट ह्वाट्सएपमा फोन आयो । फोन उठाउनासाथ उताबाट आवाज आयो, “तपाईंको छोरा मेरो कब्जामा छ, छोरा चाहिन्छ भने मैले भनेअनुसार रकम पठाउनुस् ।”

वैदेशिक रोजगारीको सिलसिलामा रहेका रमेशलाललाई अपरिचित नम्बरबाट आएको कलबाट एक्कासि सुनिएको त्यस्तो आवाजले झस्कायो । फेरि त्यहाँबाट अर्को आवाज आयो, “यो कुरा अन्य कसैलाई जानकारी गराएमा तपाईंको छोरालाई मारिदिन्छु ।” यसपछि रमेशलाल आत्तिए ।

छोरा र घरपरिवारसँग मुश्किलले सम्पर्कमा हुने उनले तत्काल सामाजिक सञ्जाल र इन्स्ट्यान्ट मेसेजिङ एपमार्फत आफ्नो परिवारलाई मेसेज पठाए । तर, रिप्लाई आएन । उताबाट छोराले, “बाबा मलाई बचाउनुस् । यिनीहरूले मलाई मार्न लागे । बाबा प्लिज !” भनेको सुनियो ।

उनले त्यस समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयबारे सोच्न थाले । प्रहरीलाई सम्पर्क गरुन् ह्वाट्सएपमा जुन नम्बरबाट कल आएको थियो, त्यसमा प्रोफाइल पिक्चर नै उच्च ओहदामा रहेका प्रहरी अधिकारीको थियो । प्रहरीले बद्री लगाएकै फोटो राखेको देखेपछि रमेशलाललाई घटनाको जानकारी नेपाल प्रहरीलाई दिन गाह्रो भयो । र, उनी छोरालाई अपहरणकारीको कब्जाबाट निकाल्न भने अनुसारको रकम दिन तयार भए ।

अपहरण गरेका भन्ने व्यक्तिले पनि रमेशलाललाई विभिन्न खाताहरू पठाएर रकम त्यसैमा ट्रान्सफर गर्न अह्राए । रमेशलाललाई छोराको ज्यानको माया थियो । उनले ती व्यक्तिहरूले भने अनुसारकै रकम पठाइदिए । अर्थात् छोरालाई छुटाउन विभिन्न व्यक्तिको खातामा १२ लाख ८० हजार रुपैयाँ जम्मा गरिदिए । 

तर, पछि थाहा भयो छोरा अपहरणमै परेको रहेनछ । उनले तत्काल आफ्नो परिवारलाई नजिकैको प्रहरी कार्यालयमा उजुरी दिन लगाए । परिवारले ठगी सम्बन्धी कसूर गरेको भन्दै खातावालाको नाममा उजुरी दियो ।

त्यसमा अनुसन्धान गर्दै जाँदा मधेस प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले ठगीमा संलग्न तीन जनालाई शुक्रबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा मेचीनगर बस्ने २६ वर्षीय सविन मैनाली, सोही क्षेत्रका २७ वर्षीय शुभम मैनाली र सुनसरी १९ की आशिका बराइली रहेका छन् । 

“विदेश बस्ने अनि घरपरिवारसँग बिरलै सम्पर्क हुने व्यक्तिहरूलाई यिनीहरूले टार्गेट गर्ने रहेछन्,” टेकपानासँग कुरा गर्दै कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक श्यामकुमार महतोले भने, “मान्छे आत्तिएको हुन्छ । अनि आफ्नो परिवारमा नबुझेर सोझै रकम पठाइदिने रहेछन् । पछि अपहरण नपरेको थाहा पाएपछि ठगी सम्बन्धी कसूरमा उजुरी दिनुहुन्छ ।” 

यसरी उनीहरूले लक्षित गरेर ठगी गरेका व्यक्तिहरू धेरै भएको उनले सुनाए । उनले अगाडि भने, “पछिल्लो समय कार्यालयमा उजुरी दिन आउनेमध्ये केहीको रकम यसरी नयाँ शैलीले ठगिएको देखिन्छ ।” 

प्रहरी उपरीक्षक महतोका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा यसरी ठगी गर्नका लागि उनीहरूले सामाजिक सञ्जाललाई मुख्य सूचनाको आधार बनाउने गरेको देखिएको छ । “सामाजिक सञ्जालमा राखेको जानकारी हेरेर नै उनीहरूले मान्छेलाई टार्गेट गर्ने गरेको देखियो,” उनले भने, “पछि उनीहरूको व्यक्तित्व बुझ्दै गएर त्यही अनुसार ठगी गर्ने रहेछन् ।” 

अनुसन्धानका क्रममा उनीहरूले प्रयोग गर्ने ह्वाट्सएप अकाउन्टको प्रोफाइलमा उच्च ओहोदाका प्रहरी अधिकारीको फोटो राखिएको थियो । विशेषगरी नेपाल प्रहरीका विभिन्न साइटबाट प्रहरी अधिकारीको फोटो डाउनलोड गर्ने र त्यसैलाई ह्वाट्सएपको प्रोफाइल राख्ने गरेको अनुसन्धानबाट खुलेको छ । यस्तो गर्नुको कारण यही हो भन्ने जानकारी आइसकेको छैन ।

यद्यपि प्रहरी नै अपहरणमा संलग्न छन् भन्ने झुटो भाव दर्साउन यस्तो गरिएको हुन सक्ने अनुमान गरिएको छ । “अहिले यही नै हो भन्ने अवस्था छैन । अहिले उनीहरूमाथि यी लगायत यस्तै अन्य विषयमा अनुसन्धान भइरहेको छ,” उनले सुनाए । उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत सप्तरीबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । 

अरू कसैले ह्वाट्सएपमा कल गरेर अपहरण गरेको छु भन्दैमा रकम नपठाइहाल्न उनले सुझाव दिए । “अपहरणमा परेको छ कि छैन भन्ने कुरा पहिचान गर्नुपर्छ,” उनले भने, “यदि रहेछ भने पनि रकम पठाइहाल्न हुँदैन । त्यसका लागि उद्धार गर्न प्रहरी छन् । समयमै प्रहरीलाई जानकारी भए सजिलो हुन्छ ।” 

ठगी गर्ने मनसाय भएका व्यक्तिले सामाजिक सञ्जालका माध्यमबाट जानकारी पाउने भएकाले त्यस्ता माध्यममा व्यक्तिगत जानकारी नराख्न महतोले सुझाव दिए । प्रहरी उपरीक्षक महतोले सामाजिक सञ्जालमा पोस्ट वा अन्य जानकारी सीमित व्यक्तिहरूले मात्र देख्ने गरी मात्र राख्न, अनावश्यक व्यक्तिलाई एड नगर्न र अपरिचित व्यक्तिसँग अन्तर्क्रिया नगर्न अनुरोध गरे । 

पछिल्लो अध्यावधिक: फागुन २२, २०८० ९:१८