close

एलन मस्कले आफूलाई टेस्लामा गाभ्न खोजेको ओपनएआईको आरोप

टेकपाना टेकपाना

फागुन २३, २०८० १६:२०

एलन मस्कले आफूलाई टेस्लामा गाभ्न खोजेको ओपनएआईको आरोप

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपनएआईले अर्बपति उद्यमी एलन मस्कले आफ्नो कम्पनीलाई टेस्लामा गाभ्न खोजेको आरोप लगाएको छ । मस्कले ओपनएआई नाफामा केन्द्रित हुँदै गएको भन्दै दायर गरेको उजुरीको जवाफ दिंदै कम्पनीले यस्तो जवाफ दिएको हो । 

ओपनएआईले मङ्गलबार प्रकाशित ब्लगमा कम्पनीप्रति मस्कले गरेका सबै दाबी अस्वीकार गरेको जनाएको छ । विशेषगरी मस्कले ओपनएआई एक गैरनाफामुखी संस्था हुनुको प्रारम्भिक लक्ष्यबाट विचलित भएको भन्दै दिएको तर्क कम्पनीले अस्वीकार गरेको हो । 

“मिसनलाई अगाडि बढाउनका लागि हामीले नाफा संरचनाको बारेमा छलफल गर्दा, मस्कले यो कम्पनीलाई टेस्लासँग मर्ज गर्न चाहेको देखिएको । उनी यसमा आफ्नो पूर्ण नियन्त्रण होस् भन्ने चाहन्थे,” ब्लगमा लेखिएको छ, “विशेषगरी त्यसमा आफ्नो बढी इक्विटी, प्रारम्भिक बोर्डमा नियन्त्रण, र सीईओ बन्ने उनको चाहना थियो । 

उक्त ब्लगपोस्ट ओपनएआईका सह-संस्थापक ग्रेग ब्रोकम्यान, इल्या सुत्स्केभर, जोन शुल्म्यान, साम अल्टम्यान र वोज्सिच जरेम्बाले लेखेका छन् । उक्त पोस्टमा अगाडि लेखिएको छ, “हामी एलनसँग नाफाको लागि सर्तहरूमा सहमत हुन सकेनौं किनभने ओपनएआईमा कुनै पनि व्यक्तिको नियन्त्रण हुनु भनेको हाम्रो मिसन विरुद्ध हो भन्ने हामीले महसुस गर्‍यौं ।”

मस्कले भने ओपनएआईको लक्ष्य प्लेटफर्मलाई ओपन सोर्स राख्ने, मानवीय हितमा लगाउने, र नाफामा केन्द्रित हुने भएको तर पछिल्लो समय कम्पनी नाफामा केन्द्रित भएको आरोप लगाएका थिए । विशेषगरी ओपनएआईमा माइक्रोसफ्टको लगानी हुँदा मस्क ओपनएआईको विरोधमा उठेका थिए । आफूले जुन उद्देश्यका साथ ओपनएआईमा लगानी गरेका थिए कम्पनी त्यसको विपरीतमा जाँदा मस्क रुष्ट बनेका थिए ।

मस्कका अनुसार ओपनएआई आफूले गरेको सझौतालाई बाहिरिंदै गएको छ । ओपनएआईले ब्लगमा मस्कसँग भएको सम्झौताको स्क्रिनशट पनि शेयर गरेको छ । ओपनएआईले आफूले गरेका कामलाई कहिल्यै पनि ओपन सोर्समा राख्ने सम्झौता नगरेको पोस्टमा जनाएको छ । 

पछिल्लो अध्यावधिक: फागुन २३, २०८० १६:२०