close

झ्याप-झ्याप बत्ती जाने समस्या समाधान गर्न ऊर्जा मन्त्रालयले गठन गर्‍यो कार्यदल

टेकपाना टेकपाना

असार २४, २०८३ १०:४२

झ्याप-झ्याप बत्ती जाने समस्या समाधान गर्न ऊर्जा मन्त्रालयले गठन गर्‍यो कार्यदल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले पटक-पटक बत्ती जाने समस्याको दीर्घकालीन समाधानका लागि कार्यदल गठन गरिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मन्त्री श्रेष्ठले सेवाग्राहीलाई सहज, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउनु सरकार र नेपाल विद्युत् प्राधिकरणको पहिलो प्राथमिकता रहेको उल्लेख गरेका छन् ।

पश्चिम नेपालको स्थलगत भ्रमण र जमिनी यथार्थ बुझेपछि पटक-पटक विद्युत् अवरुद्ध हुने समस्या तथ्याङ्कमा देखिनेभन्दा धेरै ठुलो रहेको र यो जनताको दैनिक जीवनसँग सीधै जोडिएको मन्त्री श्रेष्ठले बताएका छन् । उनका अनुसार गठित कार्यदलले विभिन्न क्षेत्रको निरन्तर अनुगमन गरिरहेको छ र यसको सकारात्मक प्रभाव धेरै स्थानमा देखिन थालेको छ । 

 

झ्याप-झ्याप बत्ती जाने समस्या समाधान गर्न अभियाननै सुरु गरिएको मन्त्री श्रेष्ठले जानकारी गराएका छन् । गुनासा सुन्ने हटलाइन नम्बर ११५० र ११५१ मा प्राप्त हुने सबै गुनासालाई उच्च प्राथमिकताका साथ तत्काल सम्बोधन गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइएको पनि बताएका छन् ।

उनले विद्युत् सेवा प्रवाहमा हुने लापरबाही, ढिलासुस्ती वा अनियमितता कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट गर्दै जनताबाट प्राप्त प्रत्येक गुनासाको समयमै सुनुवाइ गरी आवश्यक कारबाही र समाधान सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

अभियानको पहिलो दिन हटलाइनमा २४ वटा गुनासा प्राप्त भएको र सबै गुनासाहरू समाधान भइसकेको मन्त्री श्रेष्ठले जानकारी गराएका छन् । अधिकांश गुनासाहरू वीरगञ्ज क्षेत्रबाट आएका थिए ।

पछिल्लो अध्यावधिक: असार २४, २०८३ १०:५०